चोरी भएका दुईवटा मूर्ति अमेरिकाबाट फिर्ता ल्याइयाे

फाेटाे फाईल

 

कलम नेपाल

काठमाण्डौँ । असीको दशकमा नेपालबाट चोरी भएर अमेरिका पुर्याइएका दुई मूर्ति बुधबार स्वदेश फिर्ता गरिएको छ । पुरातत्व विभागमा बुधबार आयोजित पत्रकार सम्मेलनमा स्वदेश फिर्ता गरिएका उमामहेश्वर र स्थानक बुद्धका मूर्ति सार्वजनिक गरिएको हो ।

 

बाह्रौँरतेह्रौँ शताब्दीमा बनेको उमामहेश्वरको मूर्ति सन् १९८० मा ललितपुरको टङ्गालहिटीबाट हराएको पुरातत्व विभागले जनाएको छ । पत्थरको उक्त मूर्तिमा शिवले दायाँ खुट्टा ठाडो गरी ललितासनमा बसेको र बायापट्टि पार्वती शिवसँग अडेस लगाई काखमा कुहिनाले अड्याई बसेको देखिन्छ । मूर्तिमा शिवले माथिल्लो दुई हातमा अक्षमाला र त्रिशूल लिएको, तल्लो दुई हातमा पद्मबीज र कमण्डलु लिएको छ भने बायाँ हात शिवले पार्वतीको काँधमा राखेको सुखद दृश्य कलाकारले झल्काएका छन् । मूर्तिको माथिल्लो भागमा चन्द्र, सूर्य, छत्र र त्यसमुनि अप्सराहरूले अभिषेक गरिरहेको कला देखिन्छ । त्यसै दिगपाल, देवता, बसाह, सेविका, कुमार नन्दी चित्र र फेदमा गणेशसहित शिवगणको नृत्य रूप देखाइएको छ ।

त्यस्तै ११औँ १२औँ शताब्दीको भएको अनुमान गरिएको स्थानक बुद्धको ३५ इन्च उचाइको मूर्ति काठमाडौँको यट्खाटोलबाट सन् १९८६ मा हराएको थियो । आयाताकार आसनमाथि बायाँ खुट्टा हल्का खुकुलो गरी बङ्ग्याई दायाँ खुट्टा सीधा राखी त्रिभङ्ग मुद्रामा उभिएको बुद्ध मूर्तिको पृष्ठभूमि प्रभामण्डल अत्यन्त आकर्षक देखिन्छ । बुद्धले दायाँ हात बरद मुद्रा र बायाँ हातले वस्त्रको मुजा गलादेखि पाउसम्म झरेको वस्त्र धारण गरेका छन् । मूर्तिकलाको परम्पराले मथुरा कला शैलीलाई प्रतिविम्बित गरेको र लिच्छवीकालीन नेपाली कलाशैलीको उत्कृष्टता प्रकट गर्ने कार्यमा कलाकार सफल देखिन्छन् ।

दुवै मूर्ति अमेरिकाको मेट्रोपोलिटन म्युजियम अफ आर्टस्मा प्रदर्शनीमा रहेका थिए । कलाकार लैनसिंह बाङ्देलले लेखेको इमेज अफ नेपाल नामक पुस्तकमा ती मूर्तिका बारेमा उल्लेख गरिएको थियो । सोही आधारमा ती मूर्तिहरू नेपालका भएको दाबी गरिएपछि उक्त सङ्ग्रहालयका दक्षिण एसिया प्रमुख जोन जाईको पहलमा मूर्र्ति नेपाल फर्काउन सकिएको पुरातत्व विभागका महानिर्देशक भेषनारायण दाहालले बताउनुभयो ।

सत्तरीदेखि नब्बेको दशकमा नेपालबाट मूर्ति चोरी अधिक भएको पुरातत्व विभागले जनाएको छ । वार्षिक छदेखि सातवटा मूर्ति चोरीका उजुरी विभागमा पर्ने गरेको तथ्याङ्क छ । हालसम्म तीन सयदेखि ३५० वटासम्म उजुरी दर्ता भएका छन् । अधिकांश चोरीका मूर्ति अमेरिका, बेलायतलगायत अन्य युरोपेली मुलुकमा पुग्ने गरेका छन् । त्यस्ता मूर्तिहरू कतिपय व्यक्तिगत सङ्ग्रहमा रहेका छन् भने कतिपय सङ्ग्रहालयमा राखिएका छन् ।

अमेरिकामा पुगेका मूर्ति फिर्ता भएको यो तेस्रोपटक हो । नेपालमा रेकर्ड राखिएका मूर्तिहरूका बारेमा सप्रमाण दाबी गर्न सकेमा इन्टरपोलमार्फत खोजी गरेर फिर्ता हुने गरेको छ ।

यसअघि बेलायतबाट १९, अमेरिकाबाट चार, अमेरिकाको न्युयोर्कमा व्यक्तिगत सङ्ग्रहमा रहेको चार, अस्ट्रियाबाट दीपङ्कर बुद्धको शिर एक, तिब्बतको ल्हासाबाट २२, जर्मनीबाट उमामहेश्वरको मूर्ति फिर्ता भइसकेको पुरातत्व विभागले जनाएको छ । फिर्ता भएका मूर्तिहरूलाई विभिन्न सङ्ग्रहालयमा राखिँदै आएको छ । स्थानीय धर्मपरम्परा र संस्कृतिसँग जोडिएका मूर्तिहरू भने स्थानीय बासिन्दा र गुठियारले चाहेको बेलामा जात्रा र पर्व मनाउनका लागि दिइने पनि गरिएको पुरातत्व विभागले जनाएको छ ।

Comments

comments

LEAVE A REPLY