प्रहरी र विद्यार्थीबीच झडप

कलम नेपाल

दमक —विद्यार्थीलाई बसमा नचढाएको निहुँमा भएको विवादमा झापाको दमकमा शुक्रवार प्रहरी र विद्यार्थीबीच झडप भएको छ ।

शुक्रवार दिउँसो यातायात मजदुरले विद्यार्थीको पोसाक देख्नासाथ बसमा चढ्न नदिए गुनासो विद्यार्थीले गरेका छन् । यसैको विरोध स्वरूप विद्यार्थीले राजमार्गमा चक्का जाम गरेका थिए । चक्का जाम खुलाउने क्रममा प्रहरी बल प्रयोग गर्दा दुबै समूह बिच झडप भएको थियो ।

मजदुरले पटक पटक विद्यार्थीहरूलाई दुर्व्यवहार गरेको भन्दै दमक बहुमुखी क्याम्पसका विद्यार्थी विरोधमा उत्रिएका थिए ।  झडपका क्रममा विद्यार्थीको ढुंगा प्रहारबाट केही गाडीमा क्षति पुगेको छ ।

सरकारले दिएको छुट अनुसार यातायात मजदुरले विद्यार्थीलाई गाडीमा चढ्न नदिएपछि क्याम्पस पढ्न गाह्रो भएको भन्दै विद्यार्थीहरू आन्दोलित बनेका हुन् । गत चैत २३ गते स्वतन्त्र विद्यार्थी युनियन, यातायात व्यवसायी र प्रहरीबीच सरकारी छुटअनुसार ४५ प्रतिशत सहुलियतमा विद्यार्थीलाई गाडीमा चढ्न दिने सहमति जुटेको थियो ।

मे १ ख २४६६, मे १ ख २१५७, बा ५ ख २१४९ र मे १ ख ५८५६ नम्बरको बसले विद्यार्थी चढाउन नमाने भन्दै विद्यार्थीहरू आन्दोलित बनेका हुन् । उनीहरूले सहमति पालन नगरेको भन्दै इलाका प्रहरी कार्यालयका प्रहरी नायव उपरीक्षक दीपक गिरीको ध्यानाकर्षण गराएका थिए । डीएसपीको ध्यानाकर्षण गराएपछि विद्यार्थीहरू सडकमा उत्रिएर चक्काजाम गराएका थिए ।

विद्यार्थीहरूले सडक अवरुद्ध गरेपछि दिउँसो १ देखि ३ बजेसम्म पूर्व(पश्चिम राजमार्ग ठप्प भएको थियो । विद्यार्थीले चक्काजाम खोल्न नमानेपछि प्रहरीले बल प्रयोग गरेर सडक खुलाएको थियो । सो क्रममा विद्यार्थीले प्रहरीमाथि ढुङ्गा प्रहार गरेका थिए । ढुङ्गा प्रहारबाट ना ६ ख ४१६२ नम्बरको ट्रकमा क्षति पुगेको छ । प्रहरीले बल प्रयोग गरी चक्काजाम खुलाएको छ ।

Comments

comments

LEAVE A REPLY