मनाङ दमक गोल्डकपको फाइनलमा प्रवेश

कलम नेपाल
दमक । झापाको दमकमा जारी दमक गोल्डकप फुटबल प्रतियोगिताको दोस्रो सेमिफाइनल खेलमा मनाङ मस्र्याङ्दी क्लब विजयी भएको छ । मनाङले त्रिभुवन आर्मी क्लबलाई टाइब्रेकरमा पराजित गरेको हो ।

बुधवार सम्पन्न खेलमा मनाङले त्रिभुवन आर्मी क्लबलाई टाइब्रेकरमा ५–४ गोलले पराजित गरेको थियो । निर्धारित समय १–१ को बराबरीमा सकिएपछि टाइब्रेकर खेलाइएको थियो । टाइब्रेकरमा मनाङका सुजल श्रेष्ठ, विमल बस्नेत, कमल श्रेष्ठ, अन्जन विष्ट र हेमन गुरुङले गोल गरेका थिए । आर्मीका भरत खवास, जर्जप्रिन्स कार्की, सन्तोष तामाङ र विवेक बस्नेतले गोल गरेको थिए । पेनाल्टीमा आर्मीका दीपक गुरुङ गोल गर्न चुकेका थिए ।

दमक बहुमुखी क्याम्पसको मैदानमा भएको खेलको ३० औँ मिनेटमा टंक बस्नेतले गोल गर्दै आर्मीलाई अग्रता दिलाएका थिए । तरा मनाङका दीपक राईले ४७ औँ मिनेटमा गोल गर्दै खेल बराबरीमा ल्याएको थियो । खेलको १० औँ मिनेटमा आर्मीका कप्तान भरत खवासको क्रस प्रहारलाई मनाङका विदेशी डिफेण्डर फ्लोरेन्टले हेडमार्फत क्लियर गरेका थिए । मनाङका विमल रानाको क्रस पासलाई सुजल श्रेष्ठले गरेको प्रहार गोलपोस्ट नजिकैबाट बाहिरिएको थियो ।

५३ औँ मिनेटमा आर्मीका गोलकिपर विकेश कुथुको हातबाट फुत्किएको बललाई मनाङका अन्जान विष्टले गरेको प्रहार क्रसबार नजिकैबाट बाहिरिएको थियो । ६१ औँ मिनेटमा आर्मीका नवयुग श्रेष्ठले पाएको अवसरलाई पुनः चुकाएका थिए । उनलाई मनाङका डिफेण्डरले बल प्रहार गर्न रोक्दै बल क्लियर गरेका थिए ।

खेलमा मनाङका गोलकिपर विशाल श्रेष्ठ म्यान अफ द म्याच घोषित भए । उनले नगद ११ हजार रुपैयाँ प्राप्त गरे । मनाङले उपाधिको लागि शुक्रवार नेपाल पुलिस क्लबसँग फाइनल खेल खेल्नेछ । गोल्डकपको विजेताले नगद १३ लाख ११ हजार तथा उपविजेताले ६ लाख ११ हजार रुपैयाँ प्राप्त गर्नेछ । गोल्डकप दमक नगरपालिकाले आयोजना गरेको हो । वैशाख १९ देखि सुरु भएको गोल्डकपमा ए डिभिजनसहित १० टिमको सहभागिता रहेको थियो ।

Comments

comments

LEAVE A REPLY