मोदीलाई स्वागत गर्नेको भिड, नियन्त्रण गर्न लाठीचार्ज

कलम नेपाल

जनकपुरधाम । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीलाई आज जनकपुरमा नागरिक अभिनन्दन गरिँदैछ । दुई दिने राजकीय भ्रमणका क्रममा मोदी आज विहान पटनाबाट सिधै जनकपुर आउनेछन् ।

उनले जानकी मन्दिरमा पूजा गर्नेछन् । लगतै रंगभूमि मैदानमा नागरिक अभिनन्दन गर्ने कार्यक्रम छ । जनकपुर उपमहानगरपालिकाले भारतीय प्रधानमन्त्री मोदीलाई सवा १२ बजे अभिनन्दन गर्दैछ ।

तर, रंगभूमि मैदानमा विहानैबाट सार्वसाधारणको भीड लागेको छ । गाउँगाउँबाट मानिसहरु आएका छन् । प्रदेश २ का सबै स्थानीय तहले पनि बसमा जनता ल्याएका छन् । यसले भीड नियन्त्रण गर्न निकै मुस्किल भएको छ ।

धनुषाको तारापट्टी सिर्सियाबाट आएका एक बृद्ध विहान ६ बजे नै लाइनमा भेटिए । उनले भने, मोदीलाई हेर्न आएको हुँ, भित्र जान सक्छु कि सक्दिँन थाहा छैन ।’ सर्वसाधारणहरु चार–पाँच बजेदेखि नै रंगभूमि मैदानभित्र प्रवेश गर्नका लागि लाइन बसेका थिए ।

अभिनन्दन समारोहमा एक लाख मानिस उतार्ने प्रदेश २ को सरकारले घोषणा गरेको थियो ।

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको अभिनन्दन समारोहमा सहभागी हुनेहरुको घुइँचो अत्यधिक भएपछि प्रहरीले सामान्य बल प्रयोग गर्नुपरेको छ ।

रंगभूमि मैदान प्रवेशस्थल साँघुरो भएकाले भित्र प्रवेश गर्न सर्वसाधारणलाई कठिनाइ भएको छ । ठेलमठेल भएपछि कतिपय व्यक्ति बार नाघेर भित्र प्रवेश गर्न खोजेपछि प्रहरीले सामान्य लाठीचार्ज गरेको थियो ।

स्थानीय सरकारले एक लाख मानिसलाई मोदीको अभिनन्दन समारोहमा उतार्ने घोषणा गरे पनि बिहानैदेखिको भिड हेर्दा त्योभन्दा पनि धेरै पुग्ने अनुमान गर्न सकिन्छ ।

 

 

Comments

comments

LEAVE A REPLY