गोरेका पाँच पासपोर्ट, साढे ३३ किलो सुन प्रकरण

 

कलम नेपाल

काठमाडौँ — ३३ केजी सुन तस्करीका मुख्य अभियुक्त गोरे भनिने चूडामणि उप्रेतीले ६ वर्षमा ५ वटा पासपोर्ट प्रयोग गरेको पाइएको छ ।

अभियुक्तहरूको अनुसन्धानका लागि गठित उच्चस्तरीय छानबिन समितिले मुख्य नाइके चूडामणि उप्रेती, उनका भाइ रमेश र मुख्य भरिया टेकराज मल्लको ट्राभल हिस्ट्री अनुसन्धान गर्दा यस्तो तथ्य फेला परेको हो ।

अनुसन्धानबाट पछिल्ला तीन वर्षमा उनीहरू दर्जनौंपटक दुबई गएको पत्ता लागेको छ ।

समितिले विमानस्थलस्थित अध्यागमन विभागलाई वैशाख ७ मा पत्र काटेर संगठित सुन तस्करमा संलग्नहरूको ट्राभल हिस्ट्री मागेको थियो । त्यसअनुसार सन् २०१३ यता गोरेले पाँच फरक–फरक पासपोर्टबाट विदेश यात्रा गरेको देखिन्छ ।

उनले सन् २०१३ मा ०६७२२८९१ नम्बरको तथा २०१४ मा ०७६३६७१९ र ३६०५९३८१ नम्बरको पासपोर्ट प्रयोग गरेका थिए । त्यस्तै फरक–फरक मितिमा उनले ०८४७३४४० र ०७९३६३०३ नम्बरको पासपोर्ट निकालेको पाइएको छ । बारम्बार यात्रा गर्दा छिट्टै पासपोर्टको पाना सकिने भएकाले ६ वर्षमा पाँचवटा पासपोर्ट प्रयोग गरेको देखिन्छ ।

२०१३ मा निकालिएको ०६७२२८९१ नम्बरको पासपोर्टबाट गोरे एकपटक मात्रै दुबई गएको देखिन्छ । त्यसपछि सन् २०१४ मा दुबई पुगेका उनी एकैचोटि २०१५ मा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल हुँदै नेपाल फर्केको देखिन्छ । उच्च स्रोतका अनुसार भारतबाटै दुबई जाने र दिल्ली ओर्लेर स्थलमार्गबाट नेपाल छिर्ने गरेकाले उनी कतिपटक दुबई गए भन्ने रेकर्ड अध्यागमन विभागमा देखिन्न ।

पछिल्लोपटक सन् २०१६ मा ०८४७३४४० नम्बरको पासपोर्टबाट गोरेले अन्तिमपटक त्रिभुवन विमानस्थल प्रयोग गरेर यात्रा गरेको देखिन्छ । यो पासपोर्टबाट उनले एकपटक मात्रै यात्रा गरेको विमानस्थल अध्यागमन कार्यालयको रेकर्डमा छ । २०१४ मा निकालिएको ०७६३६७१९ नम्बरको पासपोर्टबाट गोरेले सन् २०१४, १५ र १६ मा दसपटक विदेश आउजाउ गरेको देखिन्छ ।

गृह स्रोतका अनुसार २०७३ भदौ २ गतेयता गोरेले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल प्रयोग गरेर विदेश गएको देखिन्न । स्रोतका अनुसार स्थलमार्गबाट दिल्ली जाने र त्यहाँबाट सोझै दुबई जाने गरेका कारण गोरेको ट्राभल हिस्ट्री अध्यागमनमा नदेखिएको हो ।

दुबईमा बसेर संगठित सुन तस्करीमा संलग्न भनिएका र मोरङ जिल्ला अदालतमा फरार अभियुक्तका रूपमा मुद्दा चलाइएका गोरेका भाइ रमेशले पनि अस्वाभाविक रूपमा बारम्बार दुबई आउजाउ गरेको देखिन्छ । २०१४ जुन १८ मा पहिलोपटक दुबई गएका रमेश सन् २०१८ सम्म २१ पटक विदेश गएको र २० पटक स्वदेश फर्केको अध्यागमनको रेकर्डमा छ । पछिल्लोपटक उनी गत फागुन ६ गते दुबई उडेको देखिन्छ । त्यसयता उनले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल प्रयोग गरेर काठमाडौं फर्केको देखिँदैन ।

संगठित सुन तस्करीमा मुख्य भरियाका रूपमा काम गरेका टेकराज मल्लले सन् २०१७ यता मात्रै ६ पटक दुबई जाने–आउने गरेको देखिन्छ । मल्लले सुन लिनकै लागि आफू प्रत्येक महिनाजसो दुबई गएको बयान दिएका छन् । बयानमा उनले कहिले १५ दिन त कहिले तीन दिनकै फरकमा सुन लिन दुबई गएको बताएका थिए । यसैबाट बुझिन्छ, बारम्बारको उनको दुबई यात्रा सुन लिनकै निम्ति हुन्थ्यो । त्यस्तै मोहम्मद उस्ताद मियाँ तीनपटक दुबई गएको ट्राभल हिस्ट्री देखिन्छ ।

 

छानबिन समितिले ४ सय २१ पटक विमानस्थल हुँदै सुन तस्करी भएको निष्कर्ष निकालेको छ । अभियोगपत्रमा २०१५ को जुलाईयता ५ सय २१ पटक सुन ल्याइएको उल्लेख छ । विमानस्थलमा कार्यरत कर्मचारी राजन थापाले बयानक्रममा प्रत्येक साताको अन्तरमा एकचोटि सुन आउने गरेको बताएका छन् ।

यस्तै प्रवृत्ति अघिल्लो ३३ किलो ५ सय ग्राम संगठित सुन तस्करीको घटनामा पनि देखिएको थियो । अनुसन्धानमा ब्युरोले विष्णुप्रसाद सुवेदी र सन्तोष काफ्लेलाई शंकाको घेरामा राखेको थियो । १७ महिनाको अवधिमा काफ्ले १९ पटक र सुवेदी १ सय ८ पटक काठमाडौं–दुबई आउजाउ गरेको तथ्य अनुसन्धानमा खुलेको थियो । उक्त घटनामा काफ्ले पक्राउ परे भने सुवेदी फरार नै रहे ।

अध्यागमनकै कमजोरी

यसअघिको साढे ३३ केजी र अहिले हराएको भनिएको ३३ केजी दुवै सुन तस्करीमा उस्तै प्रवृत्ति देखिन्छ । त्यो हो, तस्कर सञ्जालका सदस्यको निर्देशनका केही सीमित व्यक्ति बारम्बार सुन ओसार्न दुबई जानु । कतिसम्म भने केही अभियुक्त त सातामै दुई–तीनपटक दुबई पुगेको देखिन्छ । तर अस्वाभाविक रूपमा बारम्बार विदेश जानेहरू विमानस्थलस्थित अध्यागमनको शंकाको घेरामा किन पर्दैनन् रु विमानस्थल अध्यागमन अधिकारीका अनुसार अध्यागमनले प्रयोग गरिरहेको इमी सफ्टवेयरले व्यक्तिको नाम इन्ट्री गर्नेबित्तिकै ट्राभल हिस्ट्री देखाउँदैन । अध्यागमन अधिकारीहरूले बारम्बार विदेश जाने व्यक्तिलाई शंकास्पद नजरले हेर्दैनन् र त्यसबारे प्रहरीलाई जानकारी गराउने चलन पनि छैन ।

केन्द्रीय अनुसन्धान ब्युरो वा प्रहरीका अन्य इकाईले व्यक्तिको नाम र पासपोर्ट नम्बर टिपाएपछि मात्रै अध्यागमन अधिकारीले तिनीहरूलाई यात्रा प्रतिबन्ध लगाउन सक्छन् । साढे ३३ किलो सुन तस्करीपछि एउटै व्यक्ति बारम्बार विदेश जाँदा तिनलाई शंकाको घेरामा राख्न सकिने प्रणाली विकास नगरिएकाले उस्तै प्रवृत्ति पछिल्लो घटनामा समेत दोहोरिएको छ । अध्यागमनका एक अधिकारी भन्छन्, ‘कमजोर सफ्टवेयर र प्रहरी र अध्यागमन अधिकारीको बलियो समन्वयको अभावमा शंकास्पद व्यक्तिहरू निगरानीभन्दा बाहिर हुने गरेका छन् ।’

Comments

comments

LEAVE A REPLY