३३ किलो सुनकाण्डबारे अदालतमा एसएसपी लोहनीको जवाफ

 

कलम नेपाल ।

तस्करीको ३३ किलो सुनकाण्ड र सनम शाक्य हत्याकाण्डको मुद्दामा अभियुक्त बनाइएका एसएसपी दिवेश लोहनीले आफ्नो टिमको सक्रियताले मुद्दा स्थापित भएको भन्दै सफाइ पाउनुपर्ने माग गरेका छन्।

शुक्रवार जिल्ला अदालत मोरङमा न्यायाधीश नारायणप्रसाद शर्माको इजलास समक्ष उनले गाड्न लागिएको शाक्यको लास आफ्नो टिमले बरामद गरेको भन्दै आफूलाई लगाइएको झुटो अभियोग लगाएको बयान दिए।

उनीमाथि अपराधीलाई भाग्ने मौका दिएको अभियोग थियो।

‘म प्रहरी कर्मचारी भएकोले आफूले निर्वाह गनुपर्ने कर्तव्य दायित्व मात्र निर्वाह गरेको हो। कुनै अपराध गरेको छैन। म र मेरो टिमले खबर पाएकोले हाम्रो सक्रियताले मात्र यो केस स्थापित हुन गएको छ,’ उनले न्यायाधीश समक्ष भनेका छन् ‘हाम्रो कारणले मृतक सनम शाक्यको गाड्न तयार भएको लास बरामद भएको हो। तीन जना अपराधी पक्राउ परेका हुन्। केस हामीले नै स्थापित गरेको हुँदा अभियोग मागदावी झुटो हो। मैले सजाय पाउनुपर्ने नभई सफाइ पाउनु पर्छ।’

उनीसहित पक्राउ परेका ३० अभियुक्तबारे जिल्ला अदालत मोरङमा अहिले थुन छेक बहस जारी छ। थुन छेक बहस भनेको अभियुक्तहरूलाई थुनामा राखेर सुनुवाइ गर्ने कि धरौटी वा तारेखमा राखेर गर्ने भन्ने बहस हो।

यो मुद्दाका ६३ जना अभियुक्त मध्ये ९ जना विभिन्न तहका प्रहरी छन्। सबैभन्दा वरिष्ठ प्रहरी अधिकारी दिवेश लोहनी हुन्। उनैले अदालत समक्ष गरेको बयान सेतोपाटीलाई प्राप्त भएको छ। हेरौँ उक्त बयान जस्ताको तस्तै :

मोरङ जिल्ला अदालतका माननीय न्यायाधीश श्री नारायण प्रसाद शर्माको इजलास समक्ष प्रतिवादी दिवेश लोहनीले गरेको बयान

सवाल /जवाफ १ : बुवाको नाम बलराम लोहनी,आमाको नाम स्वस्तिका लोहनी र मेरो नाम दिवेश लोहनी हो। उमेर ४१ वर्षको भएँ। पेसा नेपाल प्रहरी बरष्ठ उपरीक्षक पदमा प्रहरी प्रधान कार्यालय, मानव स्रोत विकास विभाग काठमाडौँमा कार्यरत छु। वतन जिल्ला काठमाडौँ कामनपा -९ मा पर्दछ।

सवाल /जवाफ २ : संजिप शाक्यको जाहेरीले वादी नेपाल सरकार प्रतिवादी म समेत भएको आपराधिक समूह स्थापना र सञ्चालन गरी सुन चोरी पैठारी र चोरी निकासीको अवैध कारोबार , अपहरण तथा शरीर बन्धक र कर्तव्य ज्यान मुद्दामा अभियोगपत्रका साथ बयानका लागि उस्थित भएको छु।

सवाल ३: तपाईँले कोही कानुन व्यवसायी राख्नुभएको छ?

जवाफ : मैले कानुनव्यवसायी राखेको छु।

सवाल ४: तपाईँको शारीरिक मानसिक आर्थिक अवस्था कस्तो छ? परिवारमा कातिजना हुनुहुन्छ? जग्गाजमिन कति छ?

जवाफ : मेरो शारीरिक मानसिक अवस्था ठिक छ। बयान दिन सक्छु। आर्थिक अवस्था ठिकै छ। खान लाउन पुग्छ। परिवारमा ५ जना छौँ। जग्गा १० आना छ।

सवाल ५ : तपाईँ जाहेरवाला र अभियोगपत्रको विरुद्ध खण्डमा लेखिएका प्रतिवादीहरूलाई चिन्नुहुन्छ?

जवाफ : म जाहेरवालालाई चिन्दिन। र प्रहरी सेवामा रहेका प्रहरी सेवामा रहेका प्रतिवादीहरूबाहेक अरू कसैलाई पनि चिन्दिन।

सवाल ६ : तपाईँलाई संजिप शाक्यको मिसिल संलग्न जाहेरी दर्खास्ताको बेहोरा पढिबाचि सुनाइन्छ। के कसो हो खुलाई दिनुहोस।

जवाफ : उक्त बेहोरा सुनी पाएँ। जाहेरी बेहोरा सम्बन्धमा मलाई केही थाहा छैन। जाहेरवाला र मृतक सनम शाक्यलाई चिन्दिन। सनम शाक्यको मृत्यु कसले कसरी भयो, कसले गर्‍यो, के कारणले हत्या भयो मलाई थाहा भएन। घटना भएको मिति २०७४ साल फागुन १८ गत म आफ्नो कार्याल, तत्कालीन महानगरीय प्रहरी अपराध महाशाखा टेकुमा प्रमुख भई कार्यरत थिएँ। सोही कार्यालयमा कार्यरत नायव प्रहरी निरिक्षक बालकृष्ण संजेलले दिउँसोको करिब १/२ बजेतिर म समक्ष आई गोरे भन्ने आपराधिक चरित्रको व्यक्तिले मानिस मारेको छ भन्ने खबर प्राप्त भयो, के कुनै जुक्ति उपाय लगाई बचाइदिनुपर्‍यो भनी खबर गरेको थियो, कहाँ कसलाई कुन ठाउँमा मारेको हो पत्ता लगाउन सकिन्छ कि भनी खबर गरे। मैले मान्छे मार्ने जस्तो जघन्य अपराध गरी उल्टो प्रहरीलाई नै खबर गरी बचाइदिनु भन्ने यस्ता अपराधीलाई तत्काल पक्राउ गर्नुपर्छ, यो खबर गरेको कहाँबाट हो निज कहाँ छन् पत्ता लगाउनुपर्छ भनेँ। र तत्काल सङ्गठन प्रमुख प्रहरी महानिरिक्षक प्रकाश अर्याल ज्यूलाई फोन सम्पर्क गरी जाहेर गर्न खोज्दा वहाँ बिदामा बसी सम्पूर्ण फोन कल डाइभर्ट गरी निमित्त सङ्गठन प्रमुख प्र.अ. म. नि वमबहादुर भण्डारीज्यूको टेलिफोनमा कल डाइभर्ट गरिदिनुभएको रहेछ। तसर्थ मैले वमबहादुर भण्डारी ज्यूलाई घटनाको बारेमा जानकारी गराएँ। उहाँबाट हाम्रो कार्यालयमा पहिलो जानकारी प्राप्त भएकाले अपराधी के कहाँ छन् पत्ता लगाइ पक्राउ गर्न आवश्यक कारबाही अगाडी बढाउन मौखिक निर्देशन भयो। निर्देशन बमोजिम गोरे भन्ने अपराधीको सम्बन्धमा प्रारम्भिक कुराहरू पत्ता लगाइ निज पूर्व सुनसरी मोरङतिर हुन सक्ने देखि लास समेत पूर्वतिर हुन सक्ने देखि पुन: तत्कालीन सङ्गठन प्रमुख वमबहादुर भण्डारीज्यूलाई सो सम्बन्धमा जानकारी भयसम्मको सम्पूर्ण व्यहोरा जाहेर गरेँ। त्यसपछि उहाँको निर्देशन बमोजिम जिल्ला प्रहरी कार्यालय मोरङ्का प्रहरी उपरीक्षक अरुण बिसी समेतलाई जानकारी गराई उक्त अपराधी पक्राउ गरी कानुन बमोजिम कारबाही गराउन मेरो कार्यालयकै डिएसपी प्रजित केसीको कमाण्डमा टोली खटाई पठाएको हुँ। तत्कालीन सङ्गठन प्रमुख बमबहादुर भण्डारीले दिएको निर्देशनको अडियो रेकर्ड र मैले उहाँलाई जाहेर गरेको व्यहोराको रेकर्ड भएको अडियो मसँग नै छ। सो समेत पेस गर्ने छु।

सङ्गठन प्रमुखबाट टोली पठाउने आदेश भए पश्चात् कार्यालयमा मसँगै कार्यरत रहेका प्रहरी उपरीक्षक नरेन्द्र उप्रेती, उमाशंकर पञ्जियार लगायत केही जिम्मेवार प्रहरी अधिकृतसँग सङ्गठन प्रमुख ज्यूले निर्देशन भएबमोजिम टोली खटाउन र अपराधीहरूलाई दसी प्रमाणसहित पक्राउ गर्न सरसल्लाह गरेँ। काम गर्न समर्थवान बुद्धिविवेक प्रयोग गर्न सक्ने कानुनबमोजिमका कार्यहरू सम्पादन गर्न सक्ने तत्काल उपलब्ध भएका डिएसपी प्रजित केसी थिए। उनैको कमाण्डमा सही बालकृष्ण संजेल, प्रहरी हवल्दार भेषबहादुर राना र ड्राइभर सुरेन्द्र कार्कीलाई खटाई पठाएको हो। र सो सम्बन्धमा खटिआएको टोलीलाई आवश्यक पर्दा तत्काल सहयोग गर्न जिल्ला प्रहरी कार्यालय मोरङका प्रमुख प्रहरी उपरीक्षक अरुण बिसीलाई सिभिल तथा यूनिफर्मका प्रहरीहरू र सिभिल गाडी समेत तयारी हालतमा राखी डीएसपी प्रजित केसीले मागेको समयमा उपलब्ध गराउन भनी जानकारी गराएँ। सो सम्बन्धमा आवश्यक परेका जानकारीहरू सही बालकृष्ण संजेलसँग लिएँ। अपराधीलाई पक्राउ गर्न सम्पूर्ण भूमिकाहरू निर्वाह गर्ने र अपराधीसँग आफूले फोन सम्पर्क गर्ने सही बालकृष्ण संजेल पढेलेखेको नभएको र हडबडाउने स्वभावको भएकाले आफैले लिड गरी सम्पूर्ण आवश्यक कानुनी प्रक्रियाहरू अवलम्बन गर्दै अपराधीलाई जे जसरी हुन्छ पक्राउ गर्ने भन्ने आदेश दिई अफिसबाट रमानापत्र दिई पठाएको हो। सो पश्चात् राती बेलाबेलामा डिएसपी प्रजित केसीसँग फोन सम्पर्क हुँदा निज अपराधीलाई जे जसरी हुन्छ पक्राउ गर्न निर्देशन दिएको हो। र निजले पनि विभिन्न जुक्ति लगाइ लास पत्ता लगाउने अपराधीहरू पक्राउ गर्ने सबुत प्रमाणहरू सङ्कलन गरी सम्बन्धित कार्यालयमा बुझाउने छ भनी आश्वस्त गर्दै अनुसन्धानको कार्य अगाडी बढाइरहेको थिएँ। त्यसरी नै फागुन १९ गतेको बिहानको समयमा प्रजित केसीले लास बरामद गरेको, तीनजना अपराधीहरू टेकराज मल्ल ठकुरीलाई धरान देखि र मोहन काफ्ले र कृष्ण भन्ने नरेन्द्र कार्कीलाई इटहरी देखि विश्वासमा पारी आफ्नै निगरानीमा राखी गोरेलाई पक्राउ गर्न मोरङको सिमानासम्म आइपुगेको तर गोरेलाई तत्काल पक्राउ गर्न नसकिने अवस्था देखिएकोले सम्मबन्धित जिल्ला प्रहरी कार्यालय मोरङको टोली बोलाई आवश्यक कानुनी कारबाहीका लागि पक्राउ गर्न लगाई, दसी प्रमाणका सामान समेत बरामद गर्न लगाई घटनास्थल तथा लासजाँच मुचुल्काको कार्य भइरहेको भनी जानकारी गराएपश्चात् मैले तत्काल सङ्गठन प्रमुख बमबहादुर भण्डारी ज्यूलाई जाहेर गरेको हो। तत्पश्चात् मोरङ जिल्ला प्रहरी कार्यालयका प्रमुखलाई फोन गरी आवश्यक कानुनी कारबाही अगाडी बढाई अपराध महाशाखाबाट गएको टोलीलाई काम समाप्त पश्चात् फिर्ता गरिदिनु भनी यस घटनाको अनुसन्धानको सम्बन्धमा कहीँ कतै कुनै किसिमको सहयोग चाहिएमा खबर गर्नु भनेको थिएँ। अपराधीलाई पक्राउ गर्न र अपराधी लुकाउन नसकोस भन्ने आफ्नो मिसन एक हद सम्म पुरा गरेँ। तत् पश्चात् भारतीय प्रहरीसँग सम्पर्क गरी गोरेलाई पक्राउ गर्न आवश्यक सरसल्लाह र उपायहरूको लागि अनुरोध गरेबमोजिम निजहरूबाट समेत सहयोग प्राप्त भइरहेको थियो।

सवाल ७ : तपाईंलाईं आफ्नो क्षेत्रभन्दा बाहिर अनुसनेधान कार्यको लागि प्रहरीको टोली खटाउन सम्बन्धित जिल्लाको जिल्ला प्रहरी कार्यालयलाई जानकारी गराउन समन्वय गर्नुपर्ने सम्बन्धी कुनै कानुनी अवस्था रहेको थाहा छ छैन? त्यस्तो व्यवस्था छ छैन?

जवाफ : यस सम्बन्धमा कानुनी व्यवस्था रहेको छ। र सो सम्बन्धमा मलाई जानकारी समेत रहेको छ। यस सम्बन्धमा तत्कालीन सङ्गठन प्रमुख वमबहादुर भण्डारी ज्यूको म आदेश र निर्देशन बमोजिम मेरो कार्यालयबाट प्रहरी टोली गठन गरी जिल्ला प्रहरी कार्यालय मोरङसँग समेत आवश्यक समन्वय गरी टोली सहयोगका लागि पठाएको हो। अपराध नियन्त्रण गर्न आफ्नो कर्तव्य सम्झी सङ्गठन प्रमुखको निर्देशन बमोजिम नै टोली पठाएको हो।

सवाल ८ : तपाईँलाई मिसिल संगलग्न घटनास्थल मुचुल्काको बेहोरा सुनाइन्छ के कसो हो?

जवाफः उक्त बेहोरा सुनी पाएँ। उक्त बेहोरा सम्बन्धी जानकारी मैले प्रजित केसीको टोलीबाट थाहा पाएको थिएँ के के बरामद गरेको हो मलाई थाहा भएन।

सवाल ९ : तपाईँलाई प्रतिवादी टेकराज मल्ल ठकुरी,मोहन काफ्ले,कृष्ण भन्ने नरेन्द्र कार्कीले अधिकार प्राप्त अधिकारी समक्ष गरेको बयानको बेहोरा पढिबाचि सुनाइन्छ के कसो हो?

जवाफः उक्त बेहोरा सुनी पाएँ। बेहोरा सम्बन्धमा मैले अनुसन्धान पश्चात् मात्र थाहा पाएको हो। मृतक सनम शाक्यलाई चिनेको थिएन। गोरे र सनमको सम्बन्धको बारेमा मलाई केही थाहा छैन।

सवाल १० : तपाईँलाई प्रतिवादी बालकृष्ण संजेल र प्रजित केसीको बयानको बेहोरा पढिबाचि सुनाइन्छ के कसो हो?

जवाफः उक्त बेहोरा सुनी पाएँ। मैले बालकृष्ण मार्फत गोरेले मान्छे मारेको घटना थाहा पाएको हो त्यस पश्चात् सही बालकृष्ण संजेललाई गोरेको सम्बन्धमा सोधपुछ गर्दा निज अपराधी गोरे सुन तस्करीको काम गर्ने हुन भनी थाहा पाएको हो,यस बयानको सम्बन्धमा कुराकानी मैले अडियो रेकर्ड गरेको छु सो अडियो पछि पेस गर्नेछु।

जवाफ ११ : तपाईँलाई मिसिल संलग्न वस्तुस्थिति मुचुल्काको बेहोरा सुनाइन्छ के कसो हो?

जवाफः उक्त बेहोरा सुनी पाएँ। यस सम्बन्धमा मैले धेरै पछि थाहा पाएको हो।

सवाल १२ : तपाईँलाई सङ्गठित अपराध निवारण ऐन २०७० को दफा ३ को उप दफा ४ को कसुरमा सो ऐनको दफा ९ (ख) बमोजिम सजाय मागदावी लिए अभियोग पत्र दायर भएको छ के कसो हो?

जवाफः उक्त अभियोग मागदावी झुटो हो। म यस घटनामा प्रहरी कर्मचारी भएकोले आफूले निर्वाह गनुपर्ने कर्तव्य दायित्व मात्र निर्वाह गरेको हो। कुनै अपराध गरेको छैन। म र मेरो टिमले खबर पाएकोले हाम्रो टोलीको सक्रियताले मात्र यो केस स्थापित हुन गएको छ। हाम्रो कारणले मृतक सनम शाक्यको गाड्न तयार भएको लास बरामद भएको हो। तीन जना अपराधी पक्राउ परेका हुन्। मुख्य अपराधी गोरे भन्ने चुडामणी उप्रेतीको भोलिपल्ट साँझ सम्मको लोकेसन भारतीय प्रहरीबाट प्राप्त गर्न सकिएको कारणले केस हामीले नै स्थापित गरेको हुँदा अभियोग मागदावी झुटो हो। मैले सजाय पाउनुपर्ने नभई सफाइ पाउनु पर्छ।

सवाल १३ : तपाईँको साक्षी प्रमाण केही छ की?

जवाफः मेरो प्रमाणको रूपमा तत्कालीन सङ्गठन प्रमुख बमबहादुर भण्डारीसँग भएको कुराकानीको अडियो सिडी र पेन ड्राईभ पेस गरेको छु।

मेरो साक्षी निम्न छन्, खोजी भएका बखत आफै उपस्थित गराउने छु।

क) जिल्ला मोरङ, विराटनगर – १ बस्ने अन्दाजी वर्ष ४४को घनश्याम पोखरेल

ख) जिल्ला काठमाडौँ, कामनपा कालिमाटी बस्ने अन्दाजी वर्ष ३८ को शिवहरी पुडासैनी

सवाल/ जवाफ १४ : माथि लेखिएको पाना – ९ को बयानको बेहोरा पढिबाचि सुनाउँदा सुनिपाएँ। बेहोरा मैले भनेबमोजिम लेखिएको छ भनी सहिछाप गर्ने – दिवेश लोहनी

इति संवत् २०७५ वैशाख २८ गते ।

Comments

comments

LEAVE A REPLY