नेकपाका भातृ सङ्गठन बिघटन, तीन महिना भित्र नयाँ गठन

कलम नेपाल

काठमाडौँ । नेपाल कम्युनिस्ट पार्टी ९नेकपा० ले एमाले र माओवादीका सम्पूर्ण जनवर्गीय सङ्गठन विघटन गरेर कार्यदलको प्रतिवेदन अनुसार नयाँ सङ्गठन निर्माणको तयारी थालेको छ । जेठ ३ गते दुवै पार्टीको संयुक्त केन्द्रीय समितिको बैठकले जनवर्गीय सङ्गठन विघटन गरेको थियो ।

विघटन भएका जनवर्गीय सङ्गठन तीन महिनाभित्र एकीकरण गर्ने योजना पार्टीको छ । जनवर्गीय सङ्गठनको एकीकरणका लागि छुट्टाछुट्टै कार्यदल बनाउने तयारी भइरहेको छ । प्रतिवेदनमाथि छलफल गर्न एउटा छुट्टै कार्यदल गठन हुनेछ । एकता संयोजन समितिले जनवर्गीय सङ्गठनका विषयमा प्रतिवेदन दिन एमालेका तर्फबाट गोकर्ण विष्ट र माओवादी केन्द्रका तर्फबाट गिरिराजमणि पोखरेल सहभागी एउटा उपसमिति गठन गरेको थियो ।

जनवर्गीय सङ्गठनहरू, पेसगत सङ्गठनहरू र सामाजिक तथा सामुदायिक सङ्गठनहरू गरी तीन प्रकृतिका जनसङ्गठनहरू बनाउने नेकपाको तयारी छ । तत्कालीन माओवादी केन्द्रका २५ वटा भातृसङ्गठन, १५ वटा विभाग र दुई आयोग रहेको पार्टी कार्यालयका सचिव प्रकाश पोखरेलले जानकारी दिनुभयो । तत्कालीन एमाले र माओवादी केन्द्रका कार्य प्रकृतिका हिसाबले मिल्दाजुल्दा २० वटा जनसङ्गठन छन् ।

जसको बीचमा कार्यदलले तयार पारेको प्रस्तावको आधारमा एकीकरण हुनेछ । एमालेमा ट्रेड युनियन महासङ्घ छ भने माओवादी केन्द्रसँग अखिल नेपाल ट्रेड युनियन महासङ्घ । त्यस्तै, एमालेको अखिल नेपाल महिला सङ्घ र माओवादीको अखिल नेपाल महिला सङ्घ क्रान्तिकारी, एमालेको युवा सङ्घ नेपाल र माओवादीको वाइसीएल नेपाल, एमालेको अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन र माओवादीको अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन क्रान्तिकारी, एमालेका राष्ट्रिय जनसांस्कृतिक महासङ्घ र माओवादी केन्द्रका जनसांस्कृतिक महासङ्घ थियो ।

एमालेको लोकतान्त्रिक मधेसी सङ्गठन, नेपाल मुस्लिम इत्तेहाद सङ्गठन र माओवादीको मधेसी राष्ट्रिय मुक्ति मोर्चा, मुस्लिम मुक्ति मोर्चा थियो । एमालेको नेपाल उत्पीडित जातीय मुक्ति समाज, नेपाल बुद्धिजीवी परिषद् र माओवादीको दलित मुक्ति मोर्चा, अखिल नेपाल बुद्धिजीवी सङ्गठन थियो । एमालेको पेसागत महासङ्घ नेपाल र माओवादीको नेपाली राष्ट्रिय कर्मचारी महासङ्घ थियो । एमालेको नेपाल राष्ट्रिय भूतपूर्व सैनिक तथा प्रहरी सङ्गठन र माओवादीको भूतपूर्व सैनिक सङ्गठन पूर्व जनमुक्ति सेना सङ्घ थियो । प्रेस चौतारी नेपाल एमाले निकट थियो भने प्रेस सेन्टर नेपाल माओवादी कन्द्र निकट थियो ।

मानव अधिकार एलाइन्स, लोकतान्त्रिक राष्ट्रिय अपाङ्ग सङ्गठन नेपाल, नेपाल लोकतान्त्रिक खेलकुद महासङ्घ एमालेको भातृसङ्गठन थियो भने त्यस्तै प्रकृतिका सङ्गठन अखिल नेपाल मानव अधिकार सङ्गठन, काउराष्ट्र नेपाल, जनक्रान्ति घाइते तथा अपाङ्ग योद्धा, अखिल नेपाल क्रान्तिकारी अपाङ्ग सङ्घ, अखिल नेपाल खेलकुद महासङ्घ माओवादी केन्द्रको भातृसङ्गठन थियो ।

एमालेको प्रगतिशील तथा पेसागत कानुन व्यवसायी सङ्गठन, नेपाल भूमिहीन सकुम्बासी सङ्गठन र नेपाल उद्योग तथा व्यवसायी महासङ्घ थियो भने माओवादीको गणतान्त्रिक प्रगतिशील कानुन व्यवसायी एसोसिएसन नेपाल, आखिल नेपाल सुकुम्बासी, राष्ट्रिय उद्योग व्यापार महासङ्घ थियो ।

नेकपाका नेता भीम आचार्यले दुई दलका भातृ सङ्गठनका प्रतिनिधिलाई कार्यदलमा पठाइने र कार्यदलले त्यसलाई अनुमोदन गर्ने जानकारी दिनुभयो । वाईसीएलका अध्यक्ष रामप्रसाद सापकोटाले भातृ सङ्गठनलाई एकीकरण गर्न अहिले प्रक्रिया सुरु भइनसकेको बताउनुभयो ।

Comments

comments

LEAVE A REPLY