प्रधानमन्त्री ओलीलेको ‘अजम्बरी’ बिरुवा

पार्टी एकता अवसरमा जिन्को वाइलोवाको बिरुवा रोपेर पानी हाल्दै प्रधानमन्त्री केपी ओली र पुष्पकमल दाहाल / कलम नेपाल

 

कलम नेपाल ।
काठमाडौं, पार्टी एकता अवसरमा वृक्षरोपण गर्न केपी ओली र पुष्पकमल दाहालले यस्तो बिरुवा छाने, जसको नेपाली नाम छैन। यहाँका बगैंचामा खासै देखिँदैन। धेरैले त सुनेका पनि छैनन्।

अंग्रेजीमा ‘जिन्को वाइलोवा’ भनिने यो वनस्पति त्यसै छानिएको होइन।

तत्कालीन एमाले र माओवादी पार्टीले यो बिरुवा रोपेर राजनीतिक सन्देश दिन खोजेका छन्। त्यो सन्देश हो, पार्टी एकता ‘जिन्को वाइलोवा’ जत्तिकै चिरस्थायी हुनेछ।

हाम्रो हावापानी र माटोमा खासै नदेखिएको, नसुनिएको यो बिरुवा संसारकै पुरानो वनस्पतिमा पर्छ।

वनस्पतिविद् तीर्थबहादुर श्रेष्ठका अनुसार जिन्को वाइलोवाको २८ करोड वर्षभन्दा पुरानो अवशेष भेटिएको छ। त्यो समय यो धर्तीमा डायनासोरहरू घुम्थे। ‘यो वनस्पति अजम्बरी हुन्छ, त्यसै हराएर जाने होइन,’ उनले भने, ‘कठिनभन्दा कठिन पर्यावरणमा पनि बाँच्छ।’

डायनासोरकालीन यो बिरुवालाई वनस्पतिशास्त्रमा ‘जीवित अवशेष’ भनिन्छ। यो ‘जिन्कोल्स’ प्रजातिमा पर्छ। आफ्नो प्रजातिमै आजसम्म जीवित एकमात्र बिरुवा यही हो।

यही विशेषता बुझेर ‘मजबुत एकता’ को सन्देश दिन जिन्को वाइलोवा छानिएको प्रधानमन्त्रीका सञ्चार संयोजक रामशरण बजगाईंले बताए।

‘हाम्रो पार्टी एकता जिन्को वाइलोवाजस्तै दीगो र मजबुत रहनेछ भन्ने सन्देश दिन यो बिरुवा छानेका हौं,’ उनले सेतोपाटीसँग भने।

उनका अनुसार प्रधानमन्त्री ओलीले पार्टी एकताको दिन बालुवाटार निवासमा वृक्षरोपण गर्ने इच्छा देखाएपछि बिरुवाको चाँजो मिलाउने जिम्मा भवन निर्माण तथा सम्भार डिभिजन कार्यालयलाई दिइयो। प्रधानमन्त्री निवाससहित राष्ट्रपति, उपराष्ट्रपति, प्रधानन्यायाधीश र सभामुख निवासको बगैंचामा बोटबिरुवा उपलब्ध गराउने जिम्मा यही कार्यालयको हो।

भवन कार्यालयले पार्टी एकताको दिन कस्तो प्रकृतिको बिरुवा रोप्न उपयुक्त हुन्छ भनी कौशलटारको गौतम नर्सरीसँग परामर्श गर्यो।

यो नर्सरी रविन गौतमको हो। भवन कार्यालयले विगतमा पनि गौतम नर्सरीबाटै बिरुवा ल्याउँदै आएको छ।

‘हामीले पार्टी एकताको दिन रोप्न विशेष बिरुवा चाहियो भनेपछि गौतमजीले आधा दर्जनजतिको सूची दिनुभयो,’ भवन कार्यालयकी शान्ता आचार्यले भनिन्, ‘सूचीमा बिरुवाको विशेषता पनि खुलाउनुभएको थियो।’

धेरैजसो नाम फलफूलका थिए। किवी, अम्बा, एभोकाडो लगायत सूचीमा जिन्को वाइलोवा पनि थियो। त्यसमध्ये जिन्को संसारकै पुरानो तर नेपाली हावापानीका लागि नयाँ वनस्पति भनेपछि प्रधानमन्त्रीबाट यही रोप्ने निर्णय भएको आचार्यले बताइन्।

पार्टी एकता अवसरमा जिन्को वाइलोवाको बिरुवा रोपेर पानी हाल्दै प्रधानमन्त्री केपी ओली र पुष्पकमल दाहाल।
जिन्को वाइलोवा आजभन्दा २८ करोड वर्षअघि उत्तर अमेरिका, युरोप र एसियाका विभिन्न भागमा पाइन्थ्यो। आकाशबाट भीमकाय उल्कापिण्ड खसेर पृथ्वीको जलवायु परिवर्तन भएपछि डायनासोर बाँच्न सकेन। अमेरिका र युरोपमा डायनासोरसँगै यो बिरुवा पनि देखिन छाड्यो। वनस्पतिविद्हरूले लोप भयो भन्नेहरु गलत थिए।

चीनका बगैंचामा जिन्को वाइलोवा जीवित रहेछ। चिनियाँ भिक्षुहरूले बाह्रौं शताब्दीबाट गुम्बाहरूमा यसको व्यवस्थित खेती सुरु गरे। चिनियाँ कला र साहित्यमा यो बिरुवालाई विशेष महत्व दिइएको पाइन्छ। चीनबाटै यसको बीउ जापान र कोरिया लगियो।

दोस्रो विश्वयुद्धमा अमेरिकाले जापानको हिरोसिमा र नागासाकीमा आणविक बम खसालेपछि त्यहाँका सबै प्राणी र वनस्पति नस्ट भए। एउटा जातको वनस्पतिलाई भने अणुबमले पनि मास्न सकेन। त्यो थियो, जिन्को वाइलोवा।

जुन ठाउँमा बम खसालिएको थियो, त्यहीँ ठाउँमा यसको रूख जीवित फेला पर्यो। जापानीहरूले रूखलाई बीचमा पारेर मन्दिर बनाए।

यही विशेषताका कारण जापानमा जिन्को वाइलोवालाई विशेष बिरुवाका रूपमा लिइन्छ। पछि जापानबाटै यसको बीउ अमेरिका र युरोपमा फैलिएको हो।

यो बिरूवा तीन हजार वर्षसम्म बाँच्न सक्ने वैज्ञानिकहरूले बताएका छन्।

डायनासोर युगसम्म अतीत तन्किए पनि नेपालको निम्ति भने यो नयाँ वनस्पति हो।

राणा प्रधानमन्त्री चन्द्रशमशेर पालामा यो बिरुवा भित्रिएको थियो। चन्द्रशमशेरले बेलायत भ्रमणबाट फर्कंदा बिरुवा लिएर आएका थिए। उनले त्यतिबेलै टुँडिखेलको दुई ठाउँमा यो बिरुवा रोपे। एउटा अहिले हुलाक विभाग रहेको ठाउँ अगाडि र अर्को आरएनएसी अगाडि।

वनस्पतिविद् श्रेष्ठ कलेज पढ्दासम्म यी दुवै ठाउँमा जिन्को वाइलोवा थियो। दुवै रूख १२–१३ फिट अग्ला थिए। त्रिचन्द्र कलेजको वनस्पति विभागले आफ्ना विद्यार्थीलाई संसारकै पुरानो यो वनस्पति देखाउन लैजान्थ्यो।

पछि टुँडिखेल वरिपरि सडक विस्तार गर्ने क्रममा एउटा उखेलेर गोदावरी लगियो। अर्को भने सैनिक मुख्यालयछेउ लगेर रोपिएको उनले बताए।

‘धेरैपछि टुँडिखेलकै छेउमा यही प्रजातिका ५०–६० वटा बिरुवा रोपिए पनि खासै फस्टाएन,’ उनले भने।

काठमाडौंमा खासै नफस्टाए पनि इलाममा भने गौतमकै साथीले यसको खेती गरिरहेका रहेछन्। केही समयअघि इलाम नगरपालिकाले पनि २५ वटा जिन्को वाइलोवाका बिरूवा रोपेको थियो। गौतमले साथीसँग बिरुवा मागेर ल्याए र आफ्नो नर्सरीमा हुर्काए।

‘मैले पहिले पनि धेरैतिर यो बिरुवा रोप्न सिफारिस गरेको थिएँ। नामै नसुनेकाले होला, कसैको रोजाइमा परेन। यसपालि भने पार्टी एकताको सन्देशसँग मिल्दोजुल्दो भएकाले हुनसक्छ, प्रधानमन्त्रीज्यूले जिन्को वाइलोवा नै रोज्नुभयो,’ गौतमले भने।

पछिल्लो समय यो बिरुवा लोकप्रिय हुँदै गएको उनले बताए। शरद याममा पात पहेँलो भएर बोटै पहेँलपुर देखिने भएकाले सहरी क्षेत्रमा आकर्षक देखिन्छ।

काभ्रेको पाँचखालमा जापानी सहयोग नियोग (जाइका) ले ‘लभ–ग्रिन’ पार्क बनाएको छ, जसमा प्रशस्त जिन्को वाइलोवा खेती गरिएको प्रधानमन्त्रीका सञ्चार संयोजक बजगाईंले जानकारी दिए।

प्रधानमन्त्री ओलीलाई यसको आयुर्वेदिक महत्व र प्रतिकूल हावापानीमा पनि लामो समय बाँच्न सक्ने खुबी मन परेको उनले बताए।

वनस्पतिविद् श्रेष्ठका अनुसार यसको पात, फल र बीउ हजारौं वर्षदेखि औषधिका रूपमा प्रयोग हुँदै आएको छ। अमेरिका र युरोपमा सबभन्दा बढी माग हुने जडिबुटीमा पर्छ।

‘वसन्त ऋतुमा पलाएका पात शरदमा पहेँलै हुन्छन् र विस्तारै झर्दै जान्छन्,’ उनले भने, ‘फेरि उही प्रक्रिया सुरु हुन्छ।’ राम्ररी फस्टाएको जिन्को वाइलोवाको उचाइ सय फिटसम्म हुन्छ भने गोलाइ १२ फिट। यो रूख ३० देखि ४० फिटसम्म फैलिन्छ। पात दुईदेखि चार इन्चका हुन्छन्।

ओलीले पार्टी एकताको सन्देश दिन यो बिरुवा रोजे पनि एउटा कुरामा भने चुकेका छन् — यो हुर्काउन सजिलो छैन।

‘आयु लामो त हुन्छ, तर यसै रोपेर छाड्दा सप्रिँदैन। सडकमा त झन् बढ्नै पाउँदैन। घरमा रोपेको फूलभन्दा बढी स्याहार गर्नुपर्छ,’ श्रेष्ठले भने, ‘एउटा मात्र रोपेर पनि कुनै शोभा दिँदैन।’

गौतम पनि यसै भन्छन्।

जिन्को वाइलोवा निम्ति हावापानी र माटो सुहाउँदो हुनुपर्छ। यो भित्री मधेस, उपत्यका, चुरे, मध्यपहाडी तथा उच्च पहाडी भेगमा फस्टाउँछ। समुद्री सतहभन्दा करिब पाँच सय मिटर माथिको हावापानी उपयुक्त हुन्छ।

‘यो बिरूवालाई प्रशस्त घाम चाहिन्छ। कम्तीमा चार घन्टा घाम लाग्ने ठाउँमा राखे मात्र राम्ररी हुर्कन्छ,’ गौतमले भने, ‘कसिलोभन्दा बलौटे माटोमा सप्रिन्छ। यसलाई राम्ररी मलजल गरिएन भने हुर्कन सक्दैन।’

प्रधानमन्त्रीका स्वकीय उपसचिव दीपेन्द्र दाहालले यसमा पनि अर्थ लगाए।

‘राम्ररी स्याहारेन भने जिन्को वाइलोवा फस्टाउँदैन भन्ने साँचो हो। दुइटा फरक–फरक पृष्ठभूमिबाट आएका पार्टीको एकता पनि त्यस्तै हो। यसलाई राम्ररी हुर्काउन विश्वासको वातावरण बलियो बनाउँदै लैजानुपर्छ,’ उनले भने।

‘यो बिरुवा प्रतिकूल हावापानीमा पनि हुर्कन सक्छ, तर राम्ररी स्याहार्नुपर्छ,’ दाहालले भने, ‘प्रधानमन्त्रीको सन्देश यही हो।’

पार्टी एकता अवसरमा जिन्को वाइलोवाको बिरुवा रोपेर पानी हाल्दै प्रधानमन्त्री केपी ओली र पुष्पकमल दाहाल / कलम नेपाल

Comments

comments

LEAVE A REPLY