गोरेले मानवअधिकारवादीको रोहबरमा राख्न अदालतमा माग गरे

म ठुलो तस्कर होइन, सनमको हत्या पनि गरेको होइन

कलम नेपाल ।
काठमाडौँ, तस्करीको ३३ किलो सुन र सनमा शाक्य हत्याका मुख्यअभियुक्त चुडामणि उप्रेती ‘गोरे’ले आफूमाथि लागेको अभियोगलाई अस्वीकार गरेका छन्।

मङ्गलवार काठमाडौँबाट पक्राउ परेका गोरेको बुधवार मोरङ जिल्ला अदालतमा बयान सुरु भएको छ।

बयानमा क्रममा गोरेले आफू सुन तस्कर नभएको अदालतमा बयान दिएको स्रोतले सेतोपाटीलाई जानकारी दियो।

बयानका क्रममा यसअघिका अभियुक्तले दिएको बयान गोरेलाई सुनाइएको थियो। उनीहरूले सुन तस्करीको मुख्य मान्छे गोरे नै भएको बताएका थिए।

गोरेले ती सबै कुरा आफूमाथि लागेको आरोपमात्र भएको बताए। उनले आफूलाई यो प्रकरणमा मुख्य मान्छे भनेर फसाउन खोजिएको बताए।

‘म त सामान्य मान्छे हो ठुला तस्कर अरू नै छन्,’ गोरेले भनेका छन्।

सनमा शाक्यको हत्या आफूले नगरेको गोरेले जिकिर गरेका छन्।

जिल्ला अदालतका न्यायाधीश नारायणप्रसाद शर्माको बन्द इजलासमा बुधवार बिहानदेखिगोरेको बयान सुरु भएको हो। आज समय नपुगेकाले भोलि पनि उनको बयान हुनेछ।

मानवअधिकारवादीको रोहवरमा राख्न माग

बयान नसकिएपछि प्रहरी हिरासतमा रहेका गोरेले आफ्नो ज्यान खतरामा रहेको भन्दै मानव अधिकारवादीको रोहवरमा राख्न अपिल गरेका छन्।

आफ्नो ज्यानमाथि नै खतरा हुन सक्ने भएकाले उनले अदालतमा निवेदन दिएका छन्। प्रहरी हिरासतमा रहस्यमय तवरले मृत्यु भएका नेपाल वायु सेवा निगमका लोडर प्रेमलाल चौधरीको प्रसङ्ग कोट्याउँदै उनले आफूलाई पनि खतरा रहेको निवेदनमा उल्लेख गरेका छन्।

यही प्रकरणमा थाई एयरका कर्मचारी सानु वनको त्रिभुवन विमानस्थलमा ट्याङ्करमा ठोक्किएर मृत्यु भएको थियो।

भागेर बस्दा ज्यानमा खतरा हुने आफन्तको सल्लाहअनुसार नै गोरे आत्मसमर्पण गर्न भारतबाट केही दिनअघि नेपाल आएका थिए। सोही बेला प्रहरीले उनलाई पक्रेको हो।

यसअघि उनले गोरेले छानबिन समितिको बयानमा आफू ठुलो तस्कर नभई सामान्य कामदार रहेको बताएका थिए।

Comments

comments

LEAVE A REPLY