तपाईँलाई फिस्टुला छ भने उपचार यस्तोछ  

अब्स्टेट्रिक फिस्टुला

कलम नेपाल ।

के हो फिस्टुला ?

महिलाले बच्चा जन्माउने क्रममा तथा पाठेघर निकाल्ने क्रममा दिसा वा पिसाब थैलीमा प्वाल पर्न सक्छ । पाठेघरको अघिल्लो र पछिल्लो भागमा रहने सो थैली सुत्केरी अवस्थामा बच्चा बाहिर निस्कने क्रममा, बच्चा निकाल्न औजार प्रयोग गरिँदा तथा पाठेघर निकाल्ने क्रममा औजारले घाउ लाग्दा प्वाल पर्न सक्छ । सोही प्वालबाट दिसा–पिसाब चुहिने समस्या लाई नै फिस्टुला रोग भनिन्छ।

यो रोगले नेपालमा बर्सेनि कयौँ महिला पीडित बन्दै आएका छन् ।चिकित्सकहरूका अनुसार काठमाडौँ मोडेल अस्पतालमा मासिक औसत ८ जना बिरामी फिस्टुला उपचारको लागि आउँछन् । उनीहरूले रोगबारे समयमै थाहा नपाएको कारण रोग छिप्पिसकेपछि मात्र आउने गरेको पाइएको छ । यो रोग लागेका सबै महिलाहरू उपचारमा नपुगेका कारण लामो समयसम्म रोग पालेर बस्न बाध्य भएको फिस्टुला उपचार विशेषज्ञ डा. गणेश दंगालले बताए । ‘कतिलाई रोगको बारेमा थाहै छैन, कति उपचारका बारेमा अनभिज्ञ छन् ।’

सन् २०११ मा युएनएफपिएले गरेको स्वास्थ्य सर्वेक्षणअनुसार नेपालमा ५ हजार जति फिस्टुला रोगी भएको अनुमान छ । विश्व स्वास्थ्य सङ्गठनका अनुसार प्रति १ हजार सुत्केरी महिलमा ४ जनालाई फस्टुला हुने गर्छ । कतिपयले लाजको कारण या रोगको बारेमा जानकारी नहुँदा रोग पालेर बस्न वाध्य छन् । फिस्टुला भएपछि पिसाब या दिसा चुहिरहने भएकाले बिरामी सकेसम्म मानिसको नजिक नजाने, दैनिक कार्यमा बाधा पर्ने, योनिबाट दिसा निस्किरहने डरले खाना कम खाने, पिसाब धेरै चुहिने डरले पानी पनि कम पिउने गर्छन् ।विकसित मुलुकमा यो रोगबाट प्रभावित हुनेको सङ्ख्या कम भए पनि अफिकाका कतिपय मुलुक तथा एसियाको नेपाललगायतका राष्ट्रमा भने उल्लेख्य सङ्ख्यामा महिलाहरू यो रोगबाट प्रभावित छन् । नेपाली महिलाहरू चेतना अभावका कारण रोग पालेर बस्ने गरेको पाइन्छ।

चिकित्सकका अनुसार ग्रामीण, विकट तथा विपन्न महिलाहरूमा यो समस्या अझ बढी छ । पूर्ण सेवा उपलब्ध भएका स्वास्थ्य संस्थाको पहुँच कम हुनु, घरैमा सुत्केरी हुने परम्परा, लामो व्यथा लागेपछि मात्र अस्पताल पुग्नु, स्वास्थ्य संस्थामा दक्ष स्वास्थ्यकर्मीको अभाव हुनु, पाठेघर निकाल्दा औजार प्रयोगले शरीरका अङ्गमा चोट लाग्नुलगायतका कारणले नेपालमा फिस्टुलाको रागी बढेन गरेको चिकित्सकहरू बताउँछन् । डा.दंगाल भन्छन्, ‘जिल्ला अस्पतालमा समेत भनेको बेला दक्ष चिकित्सक पाउन मुस्किल छ । त्यसले गर्दा पनि दुर्गम क्षेत्रमा फिस्टुलाको समस्या देखिने गरेको हो ।’

स्त्रीरोग विशेषज्ञ डा. निश्मा बज्राचार्यका अनुसार फिस्टुलाको लामो समय उपचार नभएमा योनिमा एलर्जी हु्ने, चिलाउने जस्ता रोग लाग्छन् । प्रभावकारी स्वास्थ्य सेवा र जनचेतनाको अभावमा फिस्टुलाको समस्या बढ्ने क्रम रहेको र सबै बिरामी उपचारमा आउन नसकेको विषय चुनौतीकै रूपमा रहेको डा. दंगालले बताए ।

‘उपचार दिने तालिमप्राप्त जनशक्ति पनि कम छ, स्वास्थ्य संस्था पनि कम छन्,’ उनले भने । सेवाको पहुँच र शल्यक्रिया गरेर प्रसूति गराउन सक्ने स्वास्थ्य संस्थाहरू सबै महिलाको पहुँचमा छैनन् । त्यसमा पनि ग्रामीण भेगमा यसको समस्या बढी छ।

भगन्दर (फिस्टुला )

उपचार पद्धति

सन् २०११ देखि नेपालमा फिस्टुलाको उपचार थालिएको हो । फिस्टुलाका उपचारको लागि नेपाललमा ललितपुरको पाटन अस्पताल, क्षेत्रीय अस्पताल सुर्खेत र विपी कोइराला चिकित्सा प्रतिष्ठान धरानमा सेवा सुरु गरिएको छ ।

प्वाल परेको भागलाई शल्यक्रियामार्फत सिलाएर जस्ताको तस्तै बनाउने प्रक्रिया नै फिस्टुलाको भरपर्दो उपचार हो । यसको लागि बिरामीलाई १५ दिन अस्पतालमै निगरानीमा बस्नुपर्ने हुन्छ ।

सामुदायिक अस्पतालतर्फ काठमाडौँ मोडेल अस्तपालमा पनि फिस्टुलाको निःशुल्क उपचारको व्यवस्था छ । अन्तर्राष्ट्रिय फिस्टुला फाउन्डेसनको सहयोगमा काठमाडौँ मोडेल अस्पतालले बिरामीलाई आउने जाने खर्च पनि दिने गरेको छ ।

काठमाडौँ माडेल अस्पतालले पनि बुधवार अन्तर्राष्ट्रिय फिस्टुला दिवसको अवसरमा कार्यक्रम गरी दिवस मनाएको छ । कार्यक्तममा बिरामी, तिनका आफन्त र चिकित्सकबिच अन्तरक्रिया गरियो । अस्पतालको फिस्टुला उपचार विभागले नेपालमा फिस्टुला रोग सार्वजनिक हुने क्रम बढेकाले यसलाई उत्सवको रूपमा लिनुपर्ने जनाएको छ ।

 

Comments

comments

LEAVE A REPLY