वीर अस्पतालका कारण धुर्मुस-सुन्तली फाउन्डेसन सङ्कटमा

कलम नेपाल ।
काठमाडौँ , धुर्मुस-सुन्तली फाउन्डेसन अहिले सङ्कटमा परेकोछ  ।
सरकारले पैसा नदिने, चन्दा उठाउन पनि नदिने नीतिका कारण यो फाउन्डेसन आपतमा परेको हो ।
उनीहरूकै अगुवाईमा देशकै पुरानो वीर अस्पताल काँचुली फेर्ने क्रममा छ ।

गत वैशाख २३ गते स्वास्थ्य राज्यमन्त्री पद्मा अर्याल आफैले बोलाएर धुर्मुस-सुन्तलीलाई वीर अस्पताल सफाइ अभियानमा साथ दिन आग्रह गरेकी थिइन् । पछि यसमा अरू थुप्रै सामाजिक अभियन्ताहरु जोडिए ।

सरकारका सरसफाइ दूत रहेका धुर्मुस सुन्तलीले आफै अहोरात्र अस्पतालमा खटेर सरसफाइको नेतृत्व गरे । यही क्रममा उनले अस्पताललाई नमुना रूप दिन रंगरोगन तथा अन्य भौतिक व्यवस्थापन पनि आवश्यक रहेको भन्दै मन्त्री अर्याल र अस्पताल व्यवस्थापनसँग यसका लागि प्रस्ताव राखे ।

मन्त्रीले खुसी भएर सहमति दिइन् । अस्पताल प्रशासन पनि तयार भयो । त्रिपक्षीय मौखिक सहमतिपछि धुर्मुसले उधारोमा रङ्ग ल्याएर काम सुरु गरे।

अहिले उनी रकम निकासाका लागि अस्पताल व्यवस्थापनसँग पहल गरिरहेका छन् । तर अस्पतालले आलटाल गरिरहेको छ । अस्पतालले रंगरोगनको लागि अहिलेसम्म एक पैसा दिएको छैन । धुर्मुस उधारोमा रङ्ग लगाउँदै गएका छन् । अहिलेसम्म रंगरोगनमा ४८ लाख रुपैयाँ भन्दा बढी खर्च भइसकेको छ ।

धुर्मुसले वीरमा रंगरोगन गर्न थालेको र रङ्गको पैसा उधारो रहेको कुरा बाहिर आएपछि स्वतस्फुर्तरुपमा केही आर्थिक सहयोग आउन थालेको थियो । अहिलेसम्म १४ लाख रुपैयाँ यसरी सङ्कलन भएको जानकारी धुर्मुसले दिएका छन् ।

तर, बिहीबार वीर अस्पतालमा आयोजित पत्रकार सम्मेलनमा स्वास्थ्य मन्त्री अर्यालले अस्पतालको रंगरोगनका लागि बाहिरबाट चन्दा उठाउन नपाइने बताइन् । सरकारले खर्च व्यहोर्छ त भन्ने पत्रकारहरूको सवालमा उनले कुनै जवाफ दिइनन् । जबकि यो सबै कार्य आफ्नै अगुवाईमा भइरहेको गर्वसाथ बताइन् ।

रंगरोगनको काम अझै आधाउधी बाँकी छ । पूरा काम सक्न करिब १ करोड लाग्ने अनुमान छ । ओपीडी वार्डको भित्री भागहरूको रंगरोगन भोलि सकिनेछ भने पछाडिको बिल्डिङ पुरै बाँकी छ ।

‘सहयोग लिन पनि नपाइने, सरकारले पैसा पनि नदिने हो भने कसरी काम सिध्याउने ?’ धुर्मुस निकट स्रोतले कलम नेपाललाई भन्यो ।

अस्पतालका निर्देशक भुपेन्द्र बस्नेतले केही दिनअघि एक अन्तरवार्तामा अस्पतालको रंगरोगन तथा सरसफाइको सम्पूर्ण खर्च अस्पतालले नै गरिरहेको दाबी गरेका थिए ।
सरकारले खर्च गर्ने भनेपछि किन धुर्मुसले सहयोग लिइरहेका छन् भनेर प्रश्न पनि उठ्यो । उनै निर्देशकले बिहीबारको पत्रकार सम्मेलनमा भने, ‘हामीले रंगरोगनको लागि एक पैसा खर्च गरेका छैनौँ, यो खर्च जुटाउने जिम्मेवारी सामाजिक अभियन्ताहरुको हो ।’

निर्देशकले सबै खर्च धुर्मुसको थाप्लोमा हाल्नु र अर्कोतर्फ मन्त्रीले चन्दा उठाउन नपाउने उर्दी लगाएपछि धुर्मुस समस्यामा परेका हुन् ।
पत्रकार सम्मेलनमा धुर्मुस स्वयम् पनि उपस्थित थिए । उनले सुरुदेखि नै स्वास्थ्यमन्त्री र वीर अस्पतालका निर्देशकसँग समन्वय र सहकार्यमा काम गरिरहेको बताए ।

‘मैल जे गरेको छु, उहाँहरूसँग सोधेर सहमतिमा गरेको छु,’ उनले भने । पछिल्ला दिनमा केही मिडियाहरूमा आफूमाथि अवाञ्छित आरोपहरू आएको भन्दै धुर्मुस पत्रकार सम्मेलनमा भावुक बनेका थिए ।

‘आफ्नो व्यक्तिगत काम सबै छोडेर, घरपरिवार छोडेर दिनरात देश सेवामा खटिएको छु तर, म माथि नै विभिन्न आरोपहरू सञ्चारमाध्यममा आएको देख्दा पीडाबोध भएको छ,’ धुर्मुसले भने, ‘मेरा सबै काम पारदर्शी छन्, यदि कुनै काममा एक रुपैयाँ पनि हिनामिना भएको कसैले प्रमाणित गरेमा त्यो दिनबाट म यो धरतीमा रहन्न ।’

उनले अहिलेसम्म वीर अस्पतालका लागि आफूले चन्दा आह्वान नगरेको बताए ।

Comments

comments

LEAVE A REPLY