कामचोर ठेकेदार प्रतिनिधि सहित पक्राउ

 

 

कलम नेपाल

मोरङ — व्यापारिक मार्ग विस्तार आयोजनाअन्तर्गत रानी–विराटनगर–इटहरी–धरान ६ लेन सडक निर्माणमा गुणस्तरहीन काम गरेको भन्दै प्रहरीले ठेकेदार प्रतिनिधि र कर्मचारीलाई शनिबार पक्राउ गरेको छ ।

तुदी रमण निर्माण सेवाका साइट म्यानेजर रविराज पन्त, सुपरभाइजर विनय साह र आयोजनाका साइट सुपरभाइजर देवराज बराललाई जिल्ला प्रहरी कार्यालय मोरङले पक्राउ गरेको हो ।

अनुगमनका क्रममा कमसल निर्माण सामग्री प्रयोग भइरहेकोले उनीहरुलाई पक्राउ गरिएको र कारबाहीका लागि व्यापारिक मार्ग विस्तार आयोजना इकाइ इटहरी पठाउने प्रहरी उपरीक्षक मनोजकुमार केसीले बताए ।

रानी–विराटनगर–इटहरी–धरान ६ लेन सडकअन्तरगत विराटनगर स्थित महेन्द्रचोकमा नाला निर्माण गर्ने क्रममा कमसल निर्माण सामग्री प्रयोग गरिरहेको अनुगमन समितिले फेला पारेको जानकारी गराएपछि पक्राउ गरेको उनले बताए ।

विराटनगर महानगर प्रमुख भीम पराजुलीले महानगर क्षेत्रमा भइरहेको निर्माणको अनुगमन गर्ने क्रममा उक्त ठाउँमा मापदण्ड अनुसारको काम नभइरहेको पाएपछि तत्काल कारबाहीका लागि जिल्ला प्रशासन कार्यालय मोरङलाई पत्राचार गरेको थियो ।

‘रानी–विराटनगर–इटहरी–धरान ६ लेन सडक निर्माणमा ठेकेदारले ढिलासुस्ती गर्दै आएको र मापदण्ड विपरित निर्माण गर्दै आएकोले कारबाहीका लागि सिफारिस गर्न बाध्य भयौं,’ उनले भने, ‘महानगरभित्रका मापदण्डविपरित गुणस्तरहीन काम गर्ने जुनसुकै निर्माण कम्पनी र उपभोक्ता समितिलाई कारबाहीको दायरामा ल्याउँछौं ।’

व्यापारिक मार्ग विस्तार आयोजना इकाइ इटहरीका प्रमुख बिनोदकुमार मौवारले निर्माण कम्पनीहरुलाई पटक पटक गुणस्तरीय काम गर्न निर्देशन दिइरहदा पनि अटेरी गरेकाले प्रहरीले पक्राउ गर्नु उचित भएको बताए ।

तुदी रमण जेभि काठमाडौंले विराटनगरस्थित महेन्द्र चोकदेखि बरगाछीसम्म २२ सय मिटरमा ६ लेन सडक निर्माणको ठेक्का पाएको छ । परियोजनाले निर्माण कम्पनीलाई महेन्द्रचोकदेखि बरगाछीसम्म विराटनगरको मूल बजार क्षेत्र भएकोले चैत महिनाभरीमा सडककोबीच भागमा ९ मिटर कालोपत्रे गर्ने सर्तमा ठेक्का दिएको थियो तर जेठ बित्न लाग्दासमेत कालोपत्रेको काम पूरा गरेको छैन ।

निर्माणधीन सडक र सडकको दुबैपट्टी खनेको नालाले सर्वसाधारण समस्या परेका छन् । अति व्यस्त उक्त सडकमा सवारीसाधनले उडाएको धुलोले विराटनगरका बासिन्दा मार्कामा परेका छन् । विराटनगरदेखि इटहरीसम्म दुबैपट्टी ढल निर्माणले पनि सडक धुलाम्मे बनेको छ ।

Comments

comments

LEAVE A REPLY