अवैध पासपोर्ट सङ्कलन गर्ने अखडामा छापा मार्न सुरु

 

कलम नेपाल ।

काठमाडौँ । सरकारले विदेश पठाउने नाममा अवैध रूपमा पासपोर्ट सङ्कलन गर्ने अखडाहरूमा छापा मार्न सुरु गरेको छ ।
युवाहरूलाई विदेश पठाउने नाममा होटेल, लज, रेस्टुरेन्ट, ट्राभल एजेन्सी , पसल लगायतमा पासपोर्ट सङ्कलन गरेर राख्ने गरेका छन् ।

यस्ता केन्द्रहरू म्यानपावरले तोकिएकोभन्दा बढी पैसा अशुल्ने स्थानका रूपमा प्रयोग गरिरहेका छन् । उनीहरूले नै मिलेमतोमा एजेन्टका लाखभन्दा बढी शुल्क अशुल्ने र म्यानपावरबाट १० हजरको रसिद थमाउने गरेका छन् ।

यसले वैदेशिक रोजगारीमा जानेहरु ठगिने क्रम बढेको छ । यस्ता पासपोर्ट सङ्कलन केन्द्रले लामो समयसम्म पासपोर्ट होल्ड गरेर राख्ने गरेको पनि पाइएको छ ।

अब विदेशिने युवालाई प्रलोभनमा पारेर महिना अघिदेखि अग्रिम शुल्क उठाउने र अवैध रूपमा विदेश पठाउने कार्यमा संलग्न हुनेविरुद्ध कारबाही अभियान सुरु भएको हो । यस्ता पासपोर्ट सङ्कलन गर्ने अखडाहरूको सूचना लिएर कारबाही गर्ने कामको सुरुआत भएको श्रम तथा रोजगार मन्त्रालय स्रोतले जनाएको छ ।

बुधवार प्रहरीले नयाँ बसपार्कको एक होटेलमा छापा मारेर विदेश पठाउने बाहानामा थन्क्याएर राखिएका ४१ वटा पासपोर्ट जफत गरेको छ । राहदानी सङ्कलन गरी राखेको आरोपमा महानगरीय प्रहरी प्रभाग गोंगबुले नयाँ बसपार्क मित्रनगरमा रहेको स्वर्गद्वारा गेस्ट हाउसका सञ्चालक प्रेमबहादुर विकलाई पक्राउ गरेको छ ।

राहदानीसहित प्रहरीले विकलाई वैदेशिक रोजगार विभागमा बुझाएको छ । विभागका प्रवक्ता उद्ववप्रसाद रिजालकाअनुसार प्रारम्भिक बयानमा विकले फेसिलिटी म्यानपावरमा अन्तर्वार्ता दिन आएका व्यक्तिहरूको राहदानी आफूले राखिदिएको बताएका छन् । अब विभागले यस्ता राहदानी सकलन केन्द्रहरूमा विशेष कारबाही सुरु गर्ने जनाएको छ ।

‘अब यस्ता पासपोर्ट सङ्कलन केन्द्रहरूमाथि अनुसन्धान गर्छौँ । यसमा म्यानपावर व्यवसायीको पनि संलग्नता देखिएकाले तिनलाई पनि तान्छौँ,’ रिजालले भने,’अवैध रूपमा भएका कामलाई निस्तेज पार्न अभियानकै रूपमा अघि बढ्ने योजना बनाएका छौँ ।

Comments

comments

LEAVE A REPLY