३८ घण्टा सुरुङभित्र पुरिएका कामदारको सकुसल उद्धार

कलम नेपाल

काठमाडौँ — शुक्रबार राति ८ बजेर २० मिनेट गएको थियो । हामी ४ जना सुरुङभित्र विस्फोटका लागि होल खोप्न गयौं । हेल्मेट, गम्बुट र सेफ्टी ज्याकेट लगाएका थियौं । काम गर्दैगर्दा एक्कासि ठूलो आवाजसहित पहिरो खसेर बाटो थुनियो । चारै जना आत्तियौं । भाग्ने ठाउँ थिएन ।

सुरुङको माथिल्लो भागबाट पानी चुहिइरहेको थियो । अब मरियो भन्ने लाग्यो । धेरै चिच्यायौं तर कसैले सुनेन । भोलि उज्यालो भएपछि उद्धार गरिहाल्छन् भन्ने आसमा बस्यौं । पहिरोले थुनिएको सुरुङको एउटा कुनामा सानो प्वालबाट पानी बगिरहेको थियो ।

त्यो पानी बन्द गर्ने कि भन्ने सल्लाह गर्‍यौं तर हावा नछिर्ने डरले बन्द गरेनौं । शनिबार बिहान त्यही प्वालबाट उज्यालो भित्र पस्यो । हामीले उभिएरै रात काट्यौं । उज्यालो भएपछि बाहिर मान्छे कराएको सुन्यौं तर हामीले चिच्याएको, सिट्ठी बजाएको कसैले सुनेन । हाम्रो उद्धारका लागि बाहिर डोजर चलाइएका बेला त्यही सानो प्वालबाट पानी र ढुंगा खसिरहन्थ्यो ।

बल्ल अब बाँचिने भो भन्ने आस जाग्यो । धमिलो भए पनि पानी पिउन पाइरहेकाले मरिहालिन्छ भन्ने चिन्ता थिएन तर फेरि पहिरो खस्छ कि भन्ने डर भने लागिरह्यो । शनिबार रात परेपछि उद्धार बन्द भयो । निराश हुँदै बस्यौं । आइतबार पनि उज्यालो हुनासाथ उद्धारको काम सुरु भयो । बिहान ११ बजे बाहिर निस्किँदा नयाँ जीवन पाएको महसुस भयो । ठूलोबुबाको छोरासँग कुरा गरेँ । सबैलाई बाँचेको छ भनिदिनू भनेँ ।

Comments

comments

LEAVE A REPLY