फिफा विश्वकप २०१८ काे गएरातीकाे खेलमा इंग्ल्यान्ड, बेल्जियम, स्वीडेन बिजयी

इंग्ल्यान्डको जितमा केन नायक

कलम नेपाल

भोल्गोग्राड — कप्तान ह्यारी केनले दुई गोल गरेसँगै इंग्ल्यान्डले फिफा विश्वकप २०१८ अन्तर्गत समूह चरणको पहिलो खेलमा ट्युनिसियालाई २— १ ले हराएको छ । खेलको ११ अौं मिनेटमा केनले इंग्ल्याण्डलाई अग्रता दिलाएका थिए ।

पहिलो हाफमा लगातार आक्रामक बनेको इंगल्याण्डले थप गोल गर्न सकेन । ३५ अौं मिनेटमा डिफेन्डर काइल वाल्करले पेनाल्टी क्षेत्रभित्र फल गरेपछि ट्युनिसियाले पेनाल्टी पायो । फर्जानी सासीले उक्त पेनाल्टी गोलमा परिणत गर्दै खेल बराबरीमा ल्याए ।

दोस्रो हाफमा पनि इंगल्याण्डले रणनीति परिवर्तन गरेन । ट्युनिसियाको डिफेन्स संयमित भएर खेल्दा इंगल्याण्डले गोल थप्न सकेन । खेलको इन्ज्युरी समयको दोस्रो मिनेटमा केनले दोस्रो गोल गरे । ६ यार्ड बक्सभित्र अनमार्क रहेका उनले कर्नरमा आएको बललाई पोस्टको दिशा दिएका थिए ।

यस जितसँगै समूहमा बेल्जियम र इंगल्याण्डले ३— ३ अंक जोडेका छन् । अर्को खेलमा इंगल्याण्डले पानामा र बेल्जियमले ट्युनिसियाको सामना गर्नेछ ।

                  बेल्जियम ३—० ले बिजयी

सोची — बेल्जियमको खेलशैली र रणनीति सम्हाल्न नसक्दा विश्वकप अन्तर्गत समूह ‘जी’ को पहिलो खेलमा पानामा ३–० ले पराजित भएको छ ।

सोमबार सोची रंगशालामा पानामाका गोलरक्षक जेमी पेनेडोले उत्कृष्ट खेल प्रदर्शन गरे पनि टोलीलाई पराजयबाट जोगाउन सकेनन् । बेल्जियमको जितमा रोमेलु लुकाकुले दुई तथा ड्रिज मर्टेन्सले एक गोल गरे ।

पहिलो हाफमा पानामाको रक्षात्मक रणनीति सफल भए पनि दोस्रो हाफमा भने सुरुआतमै बेल्जियम सफल भयो । मर्टेन्सले पेनाल्टी क्षेत्रको छेउबाट भली प्रहारमार्फत गोल गर्दै बेल्जियमलाई सुरुआती अग्रता दिलाए । पहिलो हाफमा मर्टेन्ससँगै लुकाकु र इडेन हाजार्डको प्रहार विफल तुल्याएका पेनेडो यसपालि भने बल नजिक पुग्न सकेनन् । ६९ औं मिनेटमा लुकाकुले अग्रता दोब्बर पारे । केभिन डी ब्रुएनेको क्रसमा उनले हेडर गोल गरेका थिए ।

म्यानचेस्टर युनाइटेडबाट व्यावसायिक फुटबल खेल्दै आएका लुकाकुले ७५ औं मिनेटमा स्कोर ३–० बनाए । हाजार्डको पासलाई डाइभ गरेका गोलरक्षक पेनेडोको टाउको माथिबाट चिप गर्दै लुकाकुले जित सुनिश्चित गरेका थिए । पानामाले खेलदौरान बेल्जियमको कमजोर पक्ष मानिएको साइड डिफेन्सको फाइदा उठाउने प्रयास गरे पनि सफल हुन सकेन । छनोट चरणमा पनि गोल गर्न निकै कसरत गरेको पानामाले गोलरक्षक थिबाउ कोर्टुआलाई बिरलै व्यस्त बनाए ।

पछिल्ला २० खेलमा अपराजित बेल्जियम समूहका बाँकी दुई खेलका लागि उच्च मनोबलसाथ अगाडि बढ्ने छ । पहिलो हाफको कमजोर प्रदर्शनले भने टोलीले अझै पनि सुधार गर्ने पक्ष बाँकी रहेको संकेत दिएको छ । समूहमा इंग्ल्यान्ड र टयुनिसिया छन् । पछिल्ला दुई प्रतियोगितामा क्वाटरफाइनलबाट बाहिरिएको बेल्जियम यसपालि त्यसलाई सुधार गर्ने लक्ष्यमा छ ।

स्वीडेनको ऐतिहासिक जित

एजेन्सी— निझ्नी नोभ्गोरोड — स्वीडेनले सन् १९५८ यता पहिलोपल्ट विश्वकपको पहिलो खेल जितेर फिफा विश्वकप २०१८ मा उत्कृष्ट सुरुआत गरेको छ । कप्तान आन्द्रिएस ग्रान्कभिस्टले खेलको ६५ औं मिनेटमा गरेको पेनाल्टी गोलसँगै स्वीडेनले समूह ‘एफ’ को खेलमा दक्षिण कोरियालाई १–० ले पराजित गर्‍यो ।

दोस्रो हाफमा रेफ्रीले भिडियो असिस्टेन्ट रेफ्री भार को सहयोग लिएपछि दिएको पेनाल्टीमा स्वीडेन भाग्यमानी साबित भयो । किम मिन वुले भिक्टर क्लेसनलाई पेनाल्टी क्षेत्रभित्र लडाएपछि रेफ्रीले भारको सहायता लिँदै पेनाल्टीको मौका दिएका थिए । ग्रान्कभिस्टले गोलरक्षक चो हयुन वुलाई गलत दिशामा पठाउँदै टोलीलाई अगाडि बढाएका थिए । समूहको पहिलो खेलमा मेक्सिकोले जर्मनीलाई हराएपछि जितका लागि अग्रसर दुवै टोलीले आ–आफ्नो मौका चुकाए ।

मार्कस बर्गले पहिलो हाफको २१ औं मिनेटमा गरेको प्रहार कोरियाली गोलरक्षक वुले राम्रो बचाउ गरेका थिए । खेलमा राम्रो सुरुआत गरेको एसियाली टोली कोरियाले सुरुआती १५ मिनेट स्वीडेनलाई दबाबमा राख्यो । आक्रमणमा तेज देखिएको कोरियाले लगातार दबाब कायम गर्‍यो । मुख्य डिफेन्डर भिक्टर लिन्डेलफलाई बिमारीका कारण गुमाए पनि स्वीडेनले खेल अगाडि बढेसँगै पकड जमायो ।

कोरियाका स्टार खेलाडी सन हयुङ मिनले आक्रमणको दायाँबाट लगातार बल बढाउँदा स्विडेनका मिडफिल्डर एमिल फोर्सबर्गले फरवार्डलाई खेलमा निम्त्याइरहे । स्तरका हिसाबले खेल ठूलो नभए पनि ४२ हजार ३ सय दर्शक उपस्थितिले खेलमा रोमान्च थपिएको थियो ।

स्वीडेनका प्रशिक्षक जान एन्डरसनले पाएको मौका सदुपयोग गर्न नसक्दा जित कठिन देखिएको बताए । कप्तान ग्रान्कभिस्टले भने अर्को खेल जितेमा दोस्रो चरण पुग्ने अवसरले जर्मनी दबाबमा रहने बताए । ‘हामीले जर्मनीलाई जित्यौं भने अर्को चरणमा जाने पक्का हुन्छ । यसले गर्दा सम्पूर्ण दबाब अब जर्मनीमाथि छ,’ उनले भने ।

स्वीडेनले अर्को खेलमा जर्मनीको सामना गर्नेछ भने कोरियाले लयमा देखिएको मेक्सिकोसँग खेल्नेछ । विश्वकपका पछिल्ला १० खेलमा एक खेल जितेको कोरियालाई प्रतियोगितामा बच्न कठिन देखिन्छ । एजेन्सी

 

 

 

Comments

comments

LEAVE A REPLY