आजदेखि विश्वकप फुटबलमा तेस्रो चरणका खेल सुरु हुँदै

 

कलम नेपाल

एजेन्सी । विश्वकप फुटबलमा आजबाट समूहका तेस्रो चरणका खेल सुरु हुँदैछन् । आज समूह ए र बी का चार खेल हुनेछन् ।

नेपाली समय अनुसार बेलुकी पौने ८ बजे सुरु हुने खेलमा समुह ए का रुस र उरुग्वे तथा साउदी अरेबिया र ईजिप्ट भिड्नेछन् । सामरा एरिनामा हुने रुस र उरुग्वेबीचको खेलले समुह विजेताको टुंगो लगाउनेछ । दुबै टोली सुरुवाती दुई खेल जित्दै राउण्ड अफ सिक्सटिनमा पुगिसकेका छन् ।

सोही सयममा भोल्गोग्राद एरिनामा साउदी अरेबिया र ईजिप्ट आमने सामने हुनेछन् । सुरुवाती दुई खेल हार्दै समुहबाटै बाहिरिएका यी दुई टोलीबीचको भिडन्त प्रतिष्ठाको लडाई मात्रै हुनेछ ।

आज राति पौने १२ बजे समुह बि का दुई खेल हुनेछन् । सारान्स्क शहरको मोरदोभिया एरिनामा पोर्चुगल र ईरान भिड्नेछन् । दोस्रो चरणमा पुग्न पोर्चुगललाई यो खेलमा कम्तिमा बराबरी गर्नुपर्नेछ । इरानको लागि भने खेल जित्नैपर्ने दबाब छ ।

समुहको अर्को खेलमा स्पेन र मोरक्को भिड्नेछन् । मोरक्को समुह चरणबाटै बाहिरिएको छ भने स्पेन ४ अंकसहित शीर्ष स्थानमा रहेको छ । यस्तोमा समूहबाट अर्को चरणमा उक्लिन स्पेनका लागि यो खेल कम्तिमा बराबरीमा सकाउनुपर्नेछ ।

 

             नकआउट चरण पुग्न पोर्चुगललाई चुनौतीपूर्ण

विश्वकप फुटबलमा आज क्रिष्ट्रियानो रोनाल्डोको पोर्चुगलले एसियाली महारथी इरानको सामना गर्दैछ। मोरक्कोविरुद्ध जीत र स्पेनसँगको बराबरीका बाबजुद पोर्चुगलले नकआउट चरण सुनिश्चित गर्न सकेको छैन।

समूह चरणको अन्तिम खेलमा सोमबार पोर्चुगल जित्नैपर्ने दबाबमा छ। इरानसँग पराजय बेहोरको खण्डमा पोर्चगुल समूह चरणबाट बाहिरिनेछ। रोनाल्डोको उत्कृष्ट प्रदर्शन पानीमा बगेर जानेछ।

इरानसँगको बराबरीले पोर्चुगल नकआउट चरणमा छनोट हुन सक्छ। तर यसमा सर्तहरु कायम रहनेछन्। मोरक्कोले स्पेनलाई दुई गोल भन्दा धेरै अन्तरले पराजित गरे बराबरी भएको खण्डमा समेत पोर्चुगल बाहिरिनेछ। त्यसैले बराबरी गर्दा समेत पोर्चुगलले स्पेनको जीतको कामना गर्नुपर्नेछ।

केहीगरि मोरक्कोले स्पेनलाई २ गोल अन्तरले पराजित गरेको अवस्थामा इरानलाई फाइदा पुग्नेछ। इरान नकआउट चरण जानेछ। त्यसैले रोनाल्डोमाथि आज गोल गर्ने दबाब छ।

पछिल्लो समय उत्कष्ट लयमा रहेका रोनाल्डो र युरोकप विजेता पोर्चुगललाई इरानी तगारो पन्छाउनु कठिन भने हुनेछैन। रोनाल्डोले यो विश्वकपमा फ्रेममा प्रहार गरेका चार वटै बललाई गोलमा परिणत गरेका छन्। रोनाल्डोलाई रोक्नु इरानका लागि सबैभन्दा ठूलो चुनौती हो।

रोनाल्डोले सन् २००६ को विश्वकपको पहिलो गोल समेत इरानविरुद्ध गरेका थिए। खेल पोर्चुगलले २(० ले जितेको थियो। इरानले अहिलेसम्म विश्वकपको समूह चरण पार गर्न सकेको छैन। युरोकप विजेता पोर्चुगललाई पराजित गर्दा इरानले इतिहास रच्नेछ।

दक्षिण कोरियासँग सन् २००२ को विश्वकपको उद्घाटन खेलमा पराजय बेहोर्नुबाहेक एसियाली मुलुकसँग अहिलेसम्म पोर्चगुलले हार बेहोरेको छैन।

तर समूह चरणको दोस्रो खेलमा जित हात पारे पनि मोरक्को विरुद्ध पोर्चुगल उत्कृष्ट प्रदर्शन गर्नबाट चुक्यो। पोर्चुगलको डिफेन्स कमजोर देखिन्छ। जसको फाइदा इरानले उठाउन सक्छ।

पोर्चुगलका पूर्व कोच कार्लोस केरोज अहिले इरानका कोच छन्। इरानले कर्नरको मौका पाए त्यसलाई गोलमा परिणत गर्न सक्ने खुबी क्वेरेजले दिलाएका छन्।

इरानका डिफेन्डर एसान हाजसाफीले आजको खेल गमाउनेछन्। उनी ग्रिसको ओलिम्पियोकोसबाट फुटबल खेल्दै आएका थिए। पोर्चुगलका जोआओ मोटिन्होले आज खेल्ने नखेल्ने निश्चित छैन। उनी बिरामी परेको बताइएको छ।

 

Comments

comments

LEAVE A REPLY