भुटानी शरणार्थी डाक्टर भम्पा राई र उनकी श्रीमतीको जीवनरक्षा निम्ति अपील

डाक्टर भम्पा राई र उहा श्रीमती

कलम नेपाल

काठमाडौं २१ असार । भुटानी शरणार्थीका डाक्टर भम्पा राईले आफ्नी श्रीमती उर्मिला राईको जीवनरक्षा गरिदिन अपील गरेका छन्। आर्थिक समस्याका कारण उपचारमा समस्या भएपछि उनले सहयोग निम्ति आग्रह गरेका हुन्।

विगत २७ वर्षदेखि झापा, दमकमा बस्दै आएका डा। राईकी श्रीमती उर्मिलाका दुवै मृगौलाले काम गर्दैनन्। लामो समयदेखि डायलाइसिसको भरमा बाँचिरहेकी छन्।

डा। राई आफैं पनि बिरामी छन्। हालै भारतको सिलिगुढीमा उपचार गरेर फर्केका छन्। दिसा–पिसाबबाट रगत बग्न नरोकिएपछि अस्पताल भर्ना भएका राईको आन्द्राको दोस्रोपटक शल्यक्रिया गरिएको छ।

राई दम्पत्तीको उपचारनिम्ति सरकारको ध्यानाकर्षण गराउन र सहयोग जुटाउन गत मंगलबार एक कार्यक्रम आयोजना गरिएको थियो। कार्यक्रममार्फत् डाक्टर राईलाई आर्थिक सहयोग गर्न आह्वान गरिएको छ।

डा। राईले सहयोग अनुरोध गर्दै प्रधानमन्त्रीलाई पत्र पनि लेखेका छन्। भुटानमा नेपाली भाषी लोत्सम्पा र ड्रुक्पाबीच द्वन्द्व चर्किएपछि उनी नेपाल आएका थिए। भुटानमा उच्च ओहोदामा रहेर डाक्टरी पेशामा संलग्न उनले दमक आएर यही काम थाले। भुटानी शरणार्थीका साथै विपन्न समुदायका मान्छेको निःशुल्क उपचार गरिरहे।

डाक्टर राई

भुटानबाट खाली हात आएका उनको आर्थिक अवस्था बलियो रहेन। चार वर्षअघि श्रीमती बिरामी भइन्। उनका मृगौला फेर्न पैसा थिएन। डायलाइसिसको भरमा बाँचिरहेकी छन्। अहिले साताको दुईपटक सम्म डायलाइसिस गर्नुपर्छ।

तै पनि डा।राई आफ्नो काममा सक्रिय रहे। बेलडाँगी शिविरमा बाँकी रहेका ६–७ हजार शरणार्थी र स्थानीयको उपचार गरिरहेकै थिए। तर आफैं थला परेपछि भने डा राईले श्रीमतीको जीवन बचाइदिन अपील गरिरहेका छन्। उनीहरूका सन्तान छैनन्। उपचार, औषधीमूलोदेखि उनीहरूको रेखदेख गर्ने मान्छे समेत छैनन्।

जीवनभर अरुको स्वास्थ्योपचार गर्दै आएका डा।भम्पा राई र उनकी श्रीमती उर्मिलालाई सहयोग गर्न नागरिक समाजले पनि आग्रह गरेको छ। चाँडै उनको नाममा बैंक खाता खोलेर त्यसमै सहयोग रकम राख्न मिल्ने व्यवस्था गरिने पत्रकार कनकमणि दीक्षितले जानकारी दिएका छन्।स्राेत सेताेपाटी

Comments

comments

LEAVE A REPLY