राज्यमन्त्री झालाई गाडीकाे ताँती

कलम नेपाल

रौतहट १७ साउन — सदरमुकाम गौरबाट भारतीय नम्बर प्लेटका ६० भन्दा बढी जिप लावालस्कर सहित चन्द्रनिगाहपुर तर्फ हुइँकिए । झट्ट हेर्दा कुनै भीभीआईपीको सवारी जस्तै । सडक दायाँबायाँका मानिसले अनुमानै लगाउन सकेनन् यत्रो जिप कहाँ जाँदैछन् भनेर ।

प्रहरीको एस्कटिङसहित जनकपुरबाट आउँदै गरेकी प्रदेश २ की राज्यमन्त्री डिम्पल झालाई लिएर गाडी गौरतर्फ हुइँकिए । बाटोभरि उनको भव्य स्वागत भयो । यो घटना नौलो होइन । मन्त्री भएपछि भारतीय नम्बरका गाडीको लाइन लगाएर गृह जिल्ला आउने यहाँ परम्परा जस्तै भइसकेको छ । ठूलै संख्यामा गाडी अघि–पछि लगाएर जिल्ला प्रवेश गर्ने मन्त्रीहरूबीच यहाँ तीव्र प्रतिस्पर्धा चलेको छ ।

जिल्लाकै पहिलो राज्यमन्त्री भएकी झालाई लिन भारतीय नम्बर प्लेटका जिप पूर्व–पश्चिम राजमार्गको चाँदी लच्का अघि बागमतीसम्म पुगेका थिए । गाडीको लाइनले व्यस्त राजमार्गमा केही समय यातायात प्रभावित भएको थियो । गरुडादेखि सदरमुकाम गौरसम्म र गाउँगाउँमा उनको स्वागत भएको छ ।

कतिपय स्थानमा गाडीलाई व्यवस्थित पार्किङ गर्न हम्मेहम्मे पथ्र्यो । झा राजपा अध्यक्ष मण्डलका सदस्य अनिल झाकी पत्नी पनि हुन् । डिम्पल गृह जिल्ला आउँदा सांसद अनिल पनि सँगै थिए । त्यसैले पार्टी नेता कार्यकर्ताले स्वागत गर्नु स्वाभाविक हो ।

फिल्मी शैलीमा उनको आगमनले कतिपय मधेसवादी दलकै कार्यकर्ताले टिप्पणी गरे । राज्यमन्त्री झाले जनता स्वस्फूर्त रूपमा स्वागतमा आएको बताइन् । ‘जनताले गरेको स्वागत स्विकारेको हँ’ उनले भनिन्, ‘गाडीको लाइन भनेर कसैले टिकाटिप्पणी गर्छ भने मेरो भन्नु केही छैन । यस्तो भव्य दृश्य देखेरै कसैलाई डाहा भएको हुन सक्छ ।’ बिहीबार उनी विभिन्न गाउँमा राखिएको कार्यक्रम सहभागी भइन् ।

यसअघि संविधानसभा सदस्यमा उनी सदभावना पार्टीबाट समानुपातिकमा परेकी थिइन् । मत्सरीका स्थानीय समाजसेवी सन्तलाल साहले यत्रो तामझाम ठीक नभएको प्रतिक्रिया दिए । ‘हाम्रो मुलुकका इन्धनको खानी छैन । विदेशबाट ल्याउनुपर्छ । यति धेरै गाडी कुदाएर दुरुपयोग गरियो,’ उनले भने, ‘मन्त्रीजीले जे भने पनि यस्तो परिपाटी राम्रो होइन ।’ तत्कालीन श्रम सहायक मन्त्री मोहम्मद आफताब आलम गृह जिल्ला आउँदा यस्तै रबैया देखिएको थियो ।

उनको स्वागतका लागि भन्दै सयभन्दा बढी भारतीय गाडीको लावालस्कर थियो । उनीपछि तत्कालीन कानुन मन्त्री प्रभु साह गृह जिल्ला आउँदा यस्तै लावालस्करको दृश्य देखिन्थ्यो । त्यस्तै तत्कालीन स्वास्थ्य राज्यमन्त्री मोहम्मद मुस्ताक राजा गृहजिल्ला आउँदा गाडीको लाइन कम थिएन । केही समयअघि मुस्ताकको निधन भइसकेको छ ।

तत्कालीन प्रधानमन्त्री माधवकुमार नेपाल गृह जिल्ला आउँदा उस्तै रबैया हुन्थ्यो । प्रधानमन्त्रीबाट हटेपछि उनको अघि पछि कुद्ने गाडी निकै कम हुन्थे । तत्कालीन मन्त्री अनिल झा पनि गृह जिल्ला आउँदा भारतीय सवारीको ताँती लाग्थो । त्यस्तै तत्कालीन ऊर्जा राज्यमन्त्री सत्यनारायण भगत आउँदा गाडीको यस्तै दृश्य देख्न पाइएको थियो ।

कांग्रेस सांसद देवप्रसाद तिमल्सिना मन्त्री हुनासाथ जिल्ला आउँदा ठूलो संख्यामा गाडीको लाइन लगाएर हिँड्नु ठीक नभएको बताउँछन् । ‘हिजो हामी के थियौं । आज के छौं त्यो बुझ्नुपर्छ,’ उनले भने, ‘सरकार सत्ताको आडमा जे पनि गर्न पाइन्छ भन्नु हुँदैन । भोलि पैदल हिँड्ने दिन पनि आउन सक्छ ।’ राज्य मन्त्री झा आउँदा ठूलो संख्यामा सवारीको लाइन देखिए पनि दोस्रो दिनदेखि भने न्यून थिए ।

Comments

comments

LEAVE A REPLY