राज्यमन्त्री शर्मा र जलेश्वर नपाका मेयर शंकरलाई पक्राउ गर्न परमादेश जारी

प्रदेश २ का सामाजिक विकास राज्यमन्त्री अभिराम शर्मा

कलम नेपाल

काठमाडौं १८ साउन । जनकपुर उच्च अदालतले प्रदेश २ का सामाजिक विकास राज्यमन्त्री अभिराम शर्मा र जलेश्वर नगरपालिकाका मेयर रामशंकर मिश्रलाई पक्राउ गर्न परमादेश जारी गरेपछि राष्ट्रिय जनता पार्टी (राजपा) भित्र खैलाबैला मच्चिएको छ ।

अदालतले पक्राउ गर्न भनेका राज्यमन्त्री र मेयर दुबै राजपाका नेता हुन् । उनीहरुलाई यसअघि नै असई थमन बिकको हत्या अभियोगमा ‘फरार अभियुक्त’ को सूचीमा राखिएको थियो । फरार सूचीमै रहेका बेला उनीहरु राज्यमन्त्री र मेयर बन्न सफल भएका हुन् ।

उच्च अदालतले नै पक्राउको आदेश दिइसकेपछि अब प्रहरीले राज्यमन्त्री र मेयरलाई गिरफ्तार गरेर अदालतमा बुझाउनुपर्ने बाध्यता सिर्जना भएको छ । प्रदेश २ मा राजपा आफैं सरकारमा छ । अब पार्टीले आफ्ना राज्यमन्त्री र मेयरलाई प्रहरीसमक्ष आत्मसमर्पण गराउनुपर्ने बाध्यता आइलागेको छ ।

हामीले यसबारेमा राजपाका अध्यक्ष मण्डलका नेता एवं प्रतिनिधिसभा सदस्य राजकिशोर यादवलाई सोध्यौं– अदालतले तपाईको पार्टीका नेता एवं राज्यमन्त्री र मेयरलाई पक्राउ गर्न आदेश दिइसक्यो, अब पार्टीले यसबारेमा के गर्छ ।

जवाफमा सांसद यादवले भने– ‘हिजो अदालतबाट जुन निर्णय आयो । यो चाहिँ अलि गम्भीर देखियो । त्यसकारण पार्टीले बसेर यसमा एउटा उपयुक्त निर्णय गर्छ । यसमा हामी बस्छौं ।’

यादवले अगाडि भने– ‘अब अदालतले नै निर्णय गरिसकेपछि पार्टीले यसमा गम्भीर छलफल गर्नुपर्ने आवश्यकता छ । पार्टी बसेर यसमा के गर्न सकिन्छ, गर्छ ।’ असई थमन बिकको हत्या एउटा राजनीतिक घटना भएकाले यसलाई मधेस आन्दोलनसँग जोडेर हेर्नुपर्ने यादवले बताए । उनले भने– ‘मधेस आन्दोलनको समयमा असईको मृत्यु भएको थियो । यो राजनीतिक मुद्दा हो । खास गरी जसको नाम मुछिएको छ, उनीहरु छँदा पनि थिएनन् । सुरुमा १८ जनाको नाम पोलिएको थियो । असईकी श्रीमतीले दिएको निवेदनमा यिनीहरुको नाम थिएन । समातेका मान्छेले पछि यिनीहरु ९राज्यमन्त्री शर्मा र मेयर मिश्र० को नाम पोलेको रहेछ ।’

राजपा नेता यादवले भने– ‘अहिलेसम्म हामीले यो एउटा राजनीतिक मुद्दा हो भनिरहेका छौं । आन्दोलनका क्रममा घटेको घटना हो यो । त्यतिबेला घटनाहरु हुन्थे र राजनीतिक रुपले यस्ता मुद्दाहरु लगाइन्थ्यो । यसमा साथीहरुले पनि त्योबेला धेरै वास्ता गरेनन् । यो पनि त्यही प्रकरणभित्रको एउटा मुद्दा हो ।’

 

अब पार्टीले माथ्लो अदालतमा जाने निर्णय लिन्छ या राज्यमन्त्री र मेयरलाई पदबाट हटाउँछ प्रश्नमा राजपा नेता यादवले भने– ‘प्रक्रियाबारे अहिले नै भन्ने अवस्था छैन ।

त्यतिबेला राज्यसँग हाम्रो एक प्रकारको सम्झौता भएको छ । त्यही सम्झौता अन्तरगत यो पनि हो । त्यसैले हामीले कसरी अगाडि बढ्ने भन्ने बारेमा चाँडै पार्टीको धारणा बनाउँछौं र अगाडि बढ्छौं ।’

Comments

comments

LEAVE A REPLY