प्रधानमन्त्रीज्यु तेह्रथुमका मानिस उपचार गर्न कहाँ जान्छन्? डा. केसी

 

डाक्टर गोविन्द केसी र प्रधानमन्त्री केपी शर्मा ओलीको कुराकानी

कलम नेपाल ।
काठमाडौं,

प्रधानमन्त्री निवास वालुवाटारमा शनिबार भेटवार्ता गर्दै त्रिवि शिक्षण अस्पतालका प्राध्यापक डाक्टर गोविन्द केसी र प्रधानमन्त्री केपी शर्मा ओली। साथमा केसी वार्ता संयोजक अभिशेक राज सिंह। तस्बिरः निशा भण्डारीप्रधानमन्त्री निवास वालुवाटारमा शनिबार भेटवार्ता गर्दै त्रिवि शिक्षण अस्पतालका प्राध्यापक डाक्टर गोविन्द केसी र प्रधानमन्त्री केपी शर्मा ओली। साथमा केसी वार्ता संयोजक अभिशेक राज सिंह। तस्बिरः निशा भण्डारी

वरिष्ठ चिकित्सक डा. गोविन्द केसीको टोली र प्रधानमन्त्री केपी शर्मा ओलीबीच शनिबार दुई घन्टा संवाद चल्यो।

संवादको अन्त्यतिर प्रधानमन्त्रीले ‘किस्सा’ सुनाएका थिए। ‘किस्सा’ मार्सी चामलको थियो। केसी पन्ध्रौंपटक अनसन बस्दा मेडिकल व्यवसायी दुर्गा प्रसाईंको घरमा ओली–पुष्पकमल दाहालले खाएको मार्सी भातको निकै चर्चा भएको थियो।

ओली आफैंले मार्सीको प्रसंग निकालेपछि बैठक कोठामा हाँसोको फोहोरा छुट्यो।

ओलीले ‘मार्सी’ को अन्तर्कथा सुरू गर्दै भने, ‘हेर्नुहोस्, म जहाँ पायो त्यहाँ जाने मान्छे होइन, प्रचण्डजीले जाउँ भनेर मात्र गएको थिएँ।’

प्रधानमन्त्रीका अनुसार एमाले र माओवादीबीच एकताको संवाद चलिरहँदा एक दिन दाहालले एकान्तमा बसेर छलफल गर्ने प्रस्ताव राखेका थिए। कहाँ एकान्त थाहा थिएन। ओलीले कहाँ जाने सोधेका थिए।

दाहालले ओलीसँग भने, ‘ठिमीतिर मेरो साथीको घर छ, त्यहीँ जाने हो।’

ओलीले फिक्री मानेनन् रे!

‘घर कसको हो चिनेको थिइनँ, वार्ता भयो। भोक लाग्यो। खाना खाने तयारी भयो, टेबुलमा बस्यौं, कालो–कालो भात थियो, तर साह्रै नमिठो,’ ओलीको भनाइ उद्धृत गर्दै वार्तामा उपस्थित एक सदस्यले भने, ‘स्वाद न बेस्वाद। त्यही बेला केटाकेटीले फोटो खिचेका थिए। भाइरल पो भएछ। मिठो भएको भए त ठिकै थियो, नमिठो चामलको पो चर्चा भएछ। पछि मलाई थाहा भयो, त्यो त मार्सी चामल रहेछ।’

गाम–ठामका परिचित झापाली प्रसाईँको घरमा खाएको मार्सी भातको ठट्टापूर्ण खण्डन दिएपछि प्रधानमन्त्रीले डा. केसीसँग गम्भीर छलफल पनि गरे।

सरकारसँगको नौबुँदे सम्झौता कार्यान्वयन सिलसिलामा ओली आफैं अग्रसर भएर बोलाएपछि केसी उत्साहित हुँदै बालुवाटार पुगेका थिए।

बुधबार साँझ प्रधानमन्त्रीका स्वकीय सचिव राजेश बज्राचार्यले केसीका सहयोगी तथा वार्ता टोली संयोजक डा. अभिषेक सिंहलाई फोन गरे। डा. केसीले पत्रकार सम्मेलन गरेपछिको फोन थियो त्यो।

‘प्रधानमन्त्रीले डाक्टर केसीलाई भेट्न चाहनुभएको छ,’ बज्राचार्यले भने।

‘सरसँग बुझेर भनौंला,’ छोटो संवादमा सिंहले जवाफ दिए।

सिंहले सुनाउन अबेर गरेनन्। केसीकहाँ पुगिहाले।

डिस्चार्ज भएको चार घन्टा पनि बितेको थिएन। केसीले स्वास्थ्यको कारण देखाउँदै एक-दुई दिन पर्खन भने।

शुक्रबार बिहान प्रधानमन्त्रीको निर्देशनमा कसैले सिधै केसीलाई फोन गरेछन्।

‘शनिबार बिहान ११ बजे प्रधानमन्त्रीले बोलाउनुभएको छ।’

केसीले त्यसै दिन १२ बजे बालुवाटार आउने बताए।

आफ्नो वार्ता टोलीका सदस्यहरूलाई पनि डा. केसीले बोलाए। त्यसैबमोजिम शनिबार ११ बजे केसीसहित डा. अभिषेकराज सिंह, डा. सुरेन्द्र भण्डारी, ओमप्रकाश अर्याल, डा. विश्व तिम्सिना, विषद दाहाल र प्रितम सुवेदी बालुवाटार हिँडे। टिचिङ अस्पतालबाट नेपाल यातायात चढेर बालुवाटारसम्म गए।

केसी टोलीलाई बैठक कक्षसम्म पुर्‍याउन निर्देशन भइसकेको रहेछ। टोली सिधै बैठक कोठा पुग्यो।

१२ बज्नै लागेको थियो।

बीस मिनेट केसी टोली प्रधानमन्त्री पर्खेर बस्यो। प्रधानमन्त्री ओली आफ्नो सचिवालयका सदस्यसहित आए। आफैंले भेटको समय जुराएका ओली गम्भीर देखिन्थे।

बैठक कोठा आइपुगेर सबैलाई नमस्कार गरी आफ्नो कुर्सीमा बसे।

त्यसपछि डा. केसीलाई सोधे, ‘सन्चै हुनुहुन्छ?’

‘म ठिकै छु,’ केसीले भने।

‘तपाईंलाई कस्तो छ?,’ केसीले सोधे।

‘ठिकै छ,’ प्रधानमन्त्रीले भने।

छोटो कुराकानीपछि कोही कर्मचारीलाई प्रधानमन्त्रीले बोलाएर भने, ‘सबैलाई इच्छाअनुसारको चिया खुवाउनू। यहाँ होलसेलमा चिया–कफी ल्याउने चलन छ।’

केसीले ‘म चिया पिउँदिनँ, चिसो पानी’ भने।

त्यसपछि ओलीले आफ्नो निजी चिकित्सक डा. दिव्या सिंह शाहलाई बोलाउन अह्राए। उनी दुई–तीन मिनेटभित्र आइपुगिन्। महाराजगन्जस्थित टिचिङ अस्पतालमै कार्यरत शाह केसीका साथी तथा उनको स्वास्थ्योपचारकी प्रमुख चिकित्सक पनि हुन्।

प्रधानमन्त्री कुरा थाल्न अग्रसर भए।

‘डाक्टरसाब र मेरो विचार–लक्ष्य एउटै छ, तर २७ दिनसम्म अनसन किन भयो? बुझ्न सकेको छैन,’ प्रधानमन्त्रीले भने, ‘कतै मलाई गलत रिपोर्टिङ पो भयो कि, दुःख लागेको छ।’

त्यसपछि उनले भने, ‘म डाक्टरसाबको अभियानजस्तै सबैलाई स्वास्थ्य–शिक्षा, उपचार प्राप्त होस् भन्ने चाहन्छु।’

उनले शिक्षा विषयमा डोल्पा, रौतहट, सप्तरी, सुनसरी, ताप्लेजुङलगायत धेरै जिल्लाको उदाहरण दिए। आफ्नो बुझाइ व्याख्या गरे।

आधा घन्टा समय बित्यो।

प्रधानमन्त्रीलाई बीचमा रोक्दै डा. केसीले भने, ‘प्रधानमन्त्रीज्यू, म यहाँ कतिबेर बस्छु थाहा छैन, मेरो छाती दुखिरहेको छ। फेरि प्रधानमन्त्रीको समय त महत्वपूर्ण हुन्छ नि।’

प्रधानमन्त्री केही बेर चुप लागे। त्यसपछि भने, ‘अब तपाईँको कुरा सुनौं।’

केसीले सुरू गरे, ‘सर्वप्रथम तपाईँलाई धन्यवाद। मैले उठाइरहेको मुद्दामा सकारात्मक हुनुभएको छ। हाम्रो कुरा बुझाउन २७ दिन लागेकोमा भने दुःखी छु।’

प्रधानमन्त्रीले डा. केसीलाई हेरिरहे।

केसी विषयवस्तुतर्फ अघि बढे।

‘अनसन तोडाउने समयमा तपाईंको पार्टीका जिम्मेवार नेताहरूले प्रतिबद्धता जनाउनुभयो। सम्झौता भयो। तपाईंहरूले मेरो माग सकारात्मक रुपमा लिनुभएको छ भन्ने ठानेको छु।’

त्यसपछि केसीले ओली पहिलोपटक प्रधानमन्त्री हुँदा आफू आठौंपटक अनसन बसेको इतिवृति सुनाउन सुरू गरे।

‘म तपाईं पहिलोपल्ट प्रधानमन्त्री हुँदा अनसन बसेको थिएँ, मैले त्यस बेला नै मेरो मुद्दा जानकारी गराएको थिएँ, तपाईंले बुझ्नुभएन,’ केसीले भने।

बालुवाटारको बैठक कक्षमा ७–८ जना प्रधानमन्त्रीहरूसँग आफ्नो माग र यसका दीर्घकालीन प्रभावबारे सविस्तार लगाएको डा. केसीले बताए। ‘सबैले मेरै माग हो, पूरा गर्छौं भनी प्रतिबद्धता जनाउनुभयो तर अन्तिममा धोका दिनुभयो,’ केसीले भने, ‘समय छ भने म तिनै कुराहरू तपाईंसँग दोहोर्‍याउन चाहन्छु।’

प्रधानमन्त्रीले मुन्टो हल्लाएर ‘भन्नुस्’ भने।

‘हेर्नुस्, म कुनै रहर र काम नभएर अनसन बसिरहेको छैन,’ केसीले भने, ‘पहिले ७५ जिल्ला थिए, अहिले देशमा ७७ जिल्ला भएका छन्, म पटक–पटक सबै जिल्लामा गएको छु, सबभन्दा कम गएको एउटा जिल्लामा पनि तीनपटक पुगेको छु।’

‘म घुम्न गएको होइन। जाँदा शिविर चलाएँ, गएका ठाउँमा स्वास्थ्यकर्मी, विद्यार्थी भेटेँ, जाने–बुझेको, सिकेको बताएँ। म आफ्नो सेवाकालको सुरुआतदेखि नै यस्तै गरिरहेको छु,’ उनले भने।

यसबीच केसीले युनिसेफको तथ्यांकको हवाला दिँदै भने, ‘नेपालमा पाँच वर्षमुनिका झन्डै २४ हजार बालबालिका सामान्य रोगबाट मर्छन्, प्रत्येक ४ देखि ६ घन्टाबीच गर्भवती महिला पेटको शिशुसँगै मर्छन्।’

किन मृत्यु हुन्छ त? सामान्य स्वास्थ्य उपचारसमेत नपाएर।

किन स्वास्थ्य सेवा पाउँदैनन्? दूरदराजमा स्वास्थ्य संस्था छैनन्, स्वास्थ्यकर्मी छैनन्।

‘स्वास्थ्य संस्था प्रायः सबै राजधानीकेन्द्रित छन्, काठमाडौंको जनसंख्या ४० लाख हाराहारी छ, यहाँ सातवटा मेडिकल कलेज छन्, बाहिर २ करोड ४० लाख जनसंख्या छ, तर त्यहाँ पर्याप्त स्वास्थ्य संस्था छैनन्, सरकारी मेडिकल कलेज छैनन्,’ केसीले भने।

उनले सरकारको बुझाइ गलत रहेको सम्झाए। ‘नेताहरू नाफा कमाउने निजी मेडिकल कलेज मात्र खोल्न कस्सिएका छन्, जुन गलत हो।’

किन गलत? उनले त्यसको व्याख्या गरे।

‘किन गलत भने, मेडिकल कलेज भनेको गैरनाफामुखी संस्था हुनुपर्छ। यहाँ भाडाका कारखाना खोलेजस्तो कम्पनी रजिष्ट्रार कार्यालयमा स्वास्थ्य संस्था दर्ता हुन्छन्,’ केसीले भने।

उनले आफूले छात्रवृत्ति कोटामा चिकित्सा शिक्षा अध्ययन गर्दाको अनुभव सुनाए।

‘म गाउँमा जन्मेको मान्छे, दुःख गरेर छात्रवृत्ति कोटामा बंगलादेश पढ्न गएँ, उच्च शिक्षा सिलसिलामा युरोप र अस्ट्रेलिया गएको छु, तर अहिलेजस्तो बेथिति भएको भए मैले पढ्न पाउने थिइनँ,’ उनले भने।

उनले विकसित देशहरूको स्वास्थ्य शिक्षा र मेडिकल कलेज कस्तो हुन्छ भनेर प्रधानमन्त्रीलाई सुनाए। नेपालको अवस्थाले भने आफूलाई अत्यधिक पीडा भएको र त्यसैलाई बदल्न निरन्तर रुपमा लड्दै आएको बताए।

‘हाम्रो देशमा सरकारले स्वास्थ्य शिक्षामा जाने गरेको बजेटलाई खर्चका रुपमा लिएको छ, तर त्यो लगानी हो भन्ने बुझेको छैन,’ केसीले भने, ‘त्यो लगानीमा उत्पादित जनशक्तिले देशमै सेवा गर्छन् भन्ने सरकार बुझ्दैन।’

उनले प्रधानमन्त्रीलाई सम्झाए, ‘दुई तिहाइ सरकार। समाजवादउन्मुख पार्टी छ। संविधान पनि त्यस्तै। तपाईंहरूले त झन् यो दायित्वबाट पछि हट्न मिल्दैन। दूरदराजमा मेडिकल शिक्षा पुर्‍याउने मेरो कुरा हो, त्यो सरकारले आफ्नो हो भन्ने बुझ्नुपर्छ।’

प्रधानमन्त्री ओलीले मुन्टो हल्लाइरहे। बीचमा बोलेनन्।

‘दुःख नमान्नुस्, तर म भन्छु,’ केसीले भने, ‘तपाईं आफ्नो घर झापा बताउनुहुन्छ, तर म मान्दिनँ, तेह्रथुम हो भन्छु।’

पूर्वी पहाडको तेह्रथुम ओलीको जन्म जिल्ला हो।

‘तपाईं दोहोर्याएर प्रधानमन्त्री हुनुभयो, तेह्रथुमको स्वास्थ्य शिक्षामा कति प्रगति भयो? स्वास्थ्य सेवाका लागि त्यहाँका जनता कहाँ जानुपर्छ?’ केसीले प्रश्न गरे, ‘कि धरान, विराटनगर, झापा कि भारत, होइन?’

प्रधानमन्त्रीको टेबुलमा थर्मस थियो। उनले पानी लिँदै, औषधि लिँदै गरिरहे। दुई घन्टाबीच ओलीले ६-७ पटक ट्याबलेट निले।

त्यसपछि डा. केसीले कांग्रेस सभापति तथा पूर्व प्रधानमन्त्री शेरबहादुर देउवाको गृहजिल्लाको उदाहरण दिए।

‘शेरबहादुर देउवा चारपटक प्रधानमन्त्री हुनुभयो। उहाँको जिल्ला डडेल्धुरामा मेडिकल कलेज स्थापनाका लागि पटक–पटक लडेँ, त्यहाँ गेटा मेडिकल कलेज बन्दैछ। त्यसमा देउवाजीले भाँजो हाल्न खोज्नुभयो, निजी मेडिकल कलेज खोल्न खोज्नुभयो। तर सक्नुभएन,’ केसीले भने।

त्यसपछि उनले अर्का प्रधानमन्त्री पुष्पकमल दाहालको कुरा गरे।

‘उहाँ (प्रचण्डजी) दूरदराजका जनताका लागि लड्नुभो, तर यत्रो वर्षसम्म रोल्पाका जनताको स्वास्थ्य शिक्षाका लागि के गर्नुभयो? उहाँ प्रधानमन्त्री भएका बेला हामीले राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान खोल्न आवाज उठायौं, त्यो हुन नदिन चलखेल गर्नुभयो। म अनसन बस्न दाङ पुगेँ, त्यो दबाबमा प्रतिष्ठान सञ्चालनमा आयो,’ केसीले भने।

१५ औं अनसन सुरू गर्नुअघि आफू शिक्षामन्त्री गिरिराजमणि पोखरेललाई भेट्न गएको उनले बताए। उनले केसीको मुद्दाअनुरूप चिकित्सा शिक्षा विधेयक लैजाने आश्वासन दिएका थिए। तर, विधेयक तोडमोड भएर संसद पुग्यो। केसी अनसन बस्न जुम्ला हिँडे।

‘आशा छ, अब यस्तो तोडमोड हुँदैन, भयो भने म १६ औं अनसन थाल्छु,’ केसीले चेतावनीको शैलीमा भने, ‘विधेयक तोडमोड भयो भने हेर्नुहोस् प्रधानमन्त्रीज्यू, त्यो जनतामुखी, विद्यार्थीमुखी नभएर जनतामारा र विद्यार्थीमारा हुनेछ।’

अब बोल्ने पालो प्रधानमन्त्रीको आयो।

‘डाक्टरसाबसँग सम्झौताअनुसारको विधेयक ल्याउने जिम्मेवारी मेरो हो। तपाईं फेरि अनसन बस्ने अवस्था आउन दिन्नँ,’ प्रधानमन्त्रीले भने।

केसीले मुन्टो हल्लाए।

त्यसपछि प्रधानमन्त्रीले थोरै काउन्टरको शैलीमा भने- ‘म १४ वर्ष जेल बसेको हुनाले धेरै त डुल्न पाएको छैन, एउटा जिल्लामा एकपटक चाहिँ पुगेको छु।’

त्यसपछि भने उनले आफ्नो चित्त दुःखेको कुरा राखे।

‘मलाई मान्छेहरूले माइतीघरमा भेला भएर मुख छोडे, डन–माफिया, आठ कक्षा पढेको भने। त्यस्तो गर्नुपर्ने अवस्था थियो र?’ ओलीले भने, ‘म किसानको छोरो, किसान नै हुँ। हलो जोतेको छु, हली हुँ। जनताको मतले प्रधानमन्त्री भएको हुँ। पैसाले किनेर होइन। मलाई लोभलालच छैन, कुनै मेडिकल कलेजप्रति मेरो सहानुभूति छैन। जति गर्न सकिन्छ म तयार छु। तपाईंसँग भएका सहमति कार्यान्वयन गरेर अगाडि बढ्न तयार छु।’

त्यसपछि प्रधानमन्त्रीले केसीलाई भने, ‘मेरो आग्रह छ, तपाईं समग्र चिकित्सा शिक्षा सुधार अभियानको नेतृत्व गरिदिनुस्।’

केसी प्वाक्क बोलिहाले।

‘नेतृत्व गर्न धेरै सक्षम व्यक्तिहरू हुनुहुन्छ, म बाहिरै बसेर उहाँहरूलाई समर्थन–सहयोग गर्छु।’

त्यसपछि त्यो प्रसंग त्यहीँ सकियो।

प्रधानमन्त्रीले आफू जन्मिएको जिल्लाको विषयमा भने, ‘हो, तेह्रथुमका जनताले दुःख पाएका छन्, म अरु नेताको जिम्मा लिन्नँ, तपाईंले भनेजस्तै दूरदराजमा स्वास्थ्य सेवा पुर्‍याउने कोशिस गर्छु।’

प्रधानमन्त्रीले सम्झौता कार्यान्वयन गर्ने आश्वासन दिए।

‘शिक्षामन्त्रीले विधेयक अगाडि बढाउनुपर्ने हो, किन बढाउनुभएन, आजै बोलाएर विस्तृत जानकारी लिनेछु,’ प्रधानमन्त्रीले भने।

प्रधानमन्त्रीले यसो भनेपछि केसीले वार्ता टोलीका संयोजक सिंहतिर इंगित गरे। सिंहले सम्झौतामा उल्लेख भएको र तत्काल कार्यान्वयन हुनुपर्ने चारवटा कार्यदल गठनको विस्तार लगाए। कसरी गठन गर्न सकिन्छ बुँदागत व्याख्या गरे। प्रधानमन्त्रीले आफ्नो सचिवालयका सदस्यलाई बुँदा टिप्न अह्राए।

सचिवालयका सदस्यले समयबारे प्रधानमन्त्रीलाई इसारा गरिरहेका थिए। त्यहीबीच ओलीले उठेर सबैसँग हात मिलाए।

केसी र सरकारबीच भएको सम्झौता कार्यान्वयन समयसीमा सकिइसकेका बेला प्रधानमन्त्रीले संवादको पहल गरेका हुन्। चिकित्सा शिक्षा विधेयक संसदबाट पारित भइसकेको छैन। संशोधन प्रस्ताव हालिएका छन्, सत्तापक्ष, विपक्षी दुवै सांसदबाट।

यसपटकको सम्झौता कार्यान्वयन होस् र पुनः अनसन बस्न नपरोस् भन्ने केसीको चाहना छ। बुधबार पत्रकारमाझ उनले भनेका थिए, ‘फेरि अनसन बस्नु नपरोस्। मलाई विश्वास छ यसपटकको सम्झौता कार्यान्वयन हुन्छ।’

पन्ध्रौं सत्याग्रह तोड्दा केसीले राखेका अधिकांश माग पूरा भएको ठानिएको छ। संसदमा दर्ता भएको चिकित्सा शिक्षा विधेयकमा २२ वटा संशोधन गर्न सरकार तयार भएको थियो। त्यही विधेयकमा संशोधनसहित ७ बुँदे माग राखेर केसी अनसन बसेका थिए। विधेयक शिक्षा मन्त्रालयबाट अगाडि बढिसकेको छैन।

वार्ता टोली संयोजक सिंहका अनुसार प्रधानमन्त्रीसँग भेट भइसकेपछि चार कार्यदल गठनबारे छलफल अगाडि बढ्न थालेको छ। ‘राजेश (बज्राचार्य) सरसँग नियमित छलफल चलिरहेको छ, कार्यदल गठनबारे गम्भीरतापूर्वक उहाँले काम थालेको जनाउ दिनुभएको छ,’ सिंहले भने।

उनका अनुसार प्रधानमन्त्रीको आश्वासनले केसीको माग पूरा हुने विश्वास बढेको छ।
(सेतो पाटि बाट )

Comments

comments

LEAVE A REPLY