‘बलात्कारी’ जेलको पर्खाल नाघेर फरार

चितवन कारागार -फाईल फोटो

कलमनेपाल समाचार –
काठमाडौँ । डकैती अभियोगमा कैद भुक्तान गर्दै आएका टिके भनिने टीकाबहादुर थापा मगर माघ ४ गते राति काठमाडौँको डिल्लीबजार कारागारको काँडेतार काटेर भागे । तर, नौ दिनपछि उनी चितवन रामनगरबाट पक्राउ परे ।

कैद सजाएँ भुक्तान गरिरहेका कैदीबन्दी कारागारभित्रका सुरक्षा कमजोरीको फाइदा उठाउँदै भाग्ने सूचीका पछिल्ला उदाहरण हुन्, टिके । त्यस्ता कैदीबन्दी भागेका घटना अरू पनि प्रशस्त छन् । जेलबाट भाग्नेहरूमा कतिपय त्यस्ता अभियुक्त पनि छन्, जो कारागारबाट फरार भएको लामो समय बित्दा पनि सुरक्षाकर्मीको नजरबाट उम्किँदै आएका छन् ।

कारागारबाट ‘ढाका’हरू मात्रै नभएर बलात्कारको अभियोग लागेका व्यक्तिसमेत भागेको अनलाइनखबरले रेकर्ड फेला पारेको छ ।

कसरी भागे टिके ?

कैदीबन्दी गणनाका क्रममा हुने गल्तीको लाभ उठाउँदै उनी कारागारभित्रको फर्निचर उद्योगछेउमा लुकेर बसे ।

पर्खाल नाघेर भाग्नलाई भर्‍याङ बनाए । काँडेतार काट्नलाई पालिससमेत तयारी अवस्थामा राखे । आफू भागेको कसैले नदेख्नू भनेर मानिसको चहलपहल हुने ठाउँतिर कपडा सुकाए । र, साँझ उचित मौका पाउनासाथ कारागारबाट टाप कसे ।

कारागार प्रशासनले उनी फरार भएको भोलिपल्ट बिहान मात्रै थाहा पायो । उनी काठमाडौँमा हुने चोरी, लुटपाट र डकैतीका घटनामा पटक–पटक पक्राउ परेका थिए ।

प्रहरीले १३ माघमा उनी मुग्लिनतर्फ जाँदै गरेको सुराकी पायो । सोही आधारमा महानगरीय प्रहरी अपराध महाशाखा र जिल्ला प्रहरी चितवनको टोली उनको खोजीमा परिचालन भए ।

साँझ ५ बजे भरतपुर–१ रामनगरको ओमसाई पेट्रोलपम्प नजिक ना४७प ५०५२ नम्बरको पल्सर मोटरसाइकलमा आउँदै गरेका टिके र प्रहरीबिच जम्काभेट भयो । एक थान कटुवा पिस्तोल र खुकुरीसहित भाग्दै गरेका टिके र उनका साथीले प्रहरी देख्नेबित्तिकै गोली चलाए । प्रहरीले जवाफी फायरिङ गर्‍यो ।

उनलाई पक्राउ गर्न प्रहरीले ६ राउन्ड फायरिङ गर्नुपर्‍याे । उनी घाइते भए, सँगै रहेका साथी भाग्न सफल बने । उनी काठमाडौँ वीर अस्पतालमा उपचाररत छन् ।

सजाएँ सकिन दुई महिना बाँकी छँदा ‘फरार’

यसअघि ४ मङ्सिरमा सुन्धारास्थित केन्द्रीय कारागारबाट जबर्जस्तीकरणी मुद्दामा जेल सजाएँ भोगिरहेका पुन्नबहादुर शाही भागे । कारागारका कर्मचारीका अनुसार सानो ज्यान भएका उनी पर्खाल नाघेर भागेका थिए ।

‘यहाँ धेरै पहिले लगाइएको पुरानो पर्खाल छ, जहाँ इँटाको चेपमा टेक्दै दक्षिणतर्फको पर्खाल नाघेर भागेको देखिन्छ,’ कारागारका कर्मचारी भन्छन्, ‘शाही अहिलेसम्म फेला परेका छैनन् ।’

जबर्जस्ती करणी मुद्दामा ०६५ सालदेखि सजाएँ भुक्तान गर्दै आएका थिए, शाहीले ।

यस्तै, अपहरण तथा कर्तव्य ज्यान मुद्दामा कालीकोट कारागारमा सजाएँ भुक्तान गरिरहेका बलबहादुर शाही जेलमुक्त हुन दुई महिना बाँकी छँदा फरार भए ।

कालिकोटकै महावै गाउँपालिकाका उनले बजारमा सामान किन्न गएका बेला सुरक्षाकर्मीलाई छक्याएका थिए, हालसम्म फरार छन् ।

डकैती मुद्दामा धनकुटा कारागारमा कैद भुक्तान गरिरहेका मिलन खड्का पनि बलहादुरकै शैलीमा सुरक्षाकर्मीको आँखा छल्दै भागेका थिए ।

सङ्खुवासभाको चैनपुर–९ का उनी ५ भदौ ०७३ मा जेलमा उत्पादित सामाग्री बजार लैजाने क्रममा भागेका थिए । तर, उनी लामो समय प्रहरीलाई छक्काएर बस्न सकेनन् । सङ्खुवासभाबाटै पुनः प्रहरीको फन्दामा परे ।

किन भाग्छन् कैदी ?

महानगरीय प्रहरी कार्यालय रानीपोखरीका उपरीक्षक (एसपी) पूर्णचन्द्र जोशीका अनुसार कैदीबन्दी भाग्नुको मुख्य कारण कारागारको जीर्ण अवस्था नै हो ।

‘छेउछाउमा घना र अग्ला भवन तथा पर्खाल छन्,’ एसपी जोशी भन्छन्, ‘अधिक भीड पनि अर्को कारण हुन सक्छ ।’

केन्द्रीय कारागारकै अवस्था हेरौँ । काठमाडौँ जगन्नाथदेवस्थित उक्त कारागार परिसरमा प्रवेश गर्नासाथ विसं १९७१ लेखिएको देखिन्छ । अर्थात्, कारागारको पर्खाल एक सय तीन वर्षअघि निर्माण भएको हो । दिनानुदिन जीर्ण बन्दै गएको पर्खाल भत्काएर नयाँ बनाइएको छैन ।

केन्द्रीय कारागारकै अवस्थाबाट झल्को मिल्छ, नेपालका जेलहरूको भौतिक संरचना कस्तो छ भन्ने । र, कमजोर संरचनाकै फाइदा उठाएर कैदीबन्दी भाग्ने गरेका हुन् ।

कारागार व्यवस्थापन विभागका अनुसार अहिले मुलुकभर ७४ वटा कारागार छन् र तिनमा १९ सय ४० कैदीबन्दी छन् ।

सबै कारागारको क्षमता भने करिब ११ हजार जनाको मात्र हो । क्षमताभन्दा बढी कैदीबन्दी थुपार्नु परेकाले सुरक्षा व्यवस्थापनमा हम्मे पर्दै आएको छ ।

कतिपय यस्ता घटना पनि छन्, सुरक्षाकर्मीकै मिलेमतोमा कैदीबन्दीलाई भगाइने गरेको छ ।

‘सुरक्षाकर्मी, नाइके र आन्तरिक प्रशासनसँग मिलेमतोमा भागेका उदाहरण पनि छन्,’ स्रोत भन्छ, ‘एउटाको कैद मिनाहा भएको हुन्छ, अर्कोलाई बाहिर पठाइएका घटनासमेत छन् । कैद मिनाहा भएका व्यक्ति भने कारागारमै रहिरहन्छ ।’

कैदीबन्दी गणना गर्ने क्रममा पनि मिलेमतोमा छुटाउन सक्ने सम्भावना रहने स्रोत बताउँछ । जस्तैः टिके भाग्न सफल भएको त्यसको उदाहरण हो । तथापि, उक्त घटनामा सुरक्षाकर्मी र नाइकेको मिलेमतो पुष्टि हुन सकेको छैन ।

सुन्धारास्थित केन्द्रीय कारागारमा ०६५ सालदेखि जबर्जस्ती करणीको सजाएँ भोगिरहेका पुन्नबहादुर शाही गत मङ्सिर ४ गते पर्खाल नाघेर भागे

कारागारभित्र सुरक्षा लापरबाहीसमेत हुने गरेको अधिकारीहरूको दाबी छ । सुरक्षा साइरन, सिसी क्यामेरालगायत सूक्ष्म निगरानीको व्यवस्था नहुँदा पनि कैदीबन्दीलाई भाग्न सहज भएको उनीहरू बताउँछन् ।

विभागका निर्देशक कृष्णप्रसाद आचार्य भने कैदीबन्दी भाग्नु आपराधिक मानसिकताको उपज भएको ठान्छन् । भन्छन्, ‘कतिपय अवस्थामा सुरक्षा लापरबाहीका कारण कैदीबन्दी भाग्न सफल भएका छन् । मानवीय त्रुटिको फाइदा उठाएका घटना पनि छन् ।’

सात हजार क्षमताको कारागार निर्माणाधीन

मुलुकका ७७ मध्ये ७२ जिल्लामा ७४ वटा कारागार छन् । विभागको समन्वय, प्रमुख जिल्ला अधिकारीको निगरानी र जेलरको जिम्मेवारीमा ती कारागार सञ्चालनमा छन् । धनुषा, भक्तपुर र बारामा भने कारागार स्थापना गरिएको छैन ।

त्यसो त, कारागारभित्रै आन्तरिक प्रशासनको व्यवस्था छ, जसअन्तर्गत् कैदीबन्दीमध्येबाटै चौकीदार, नाइके र भाइनाइके नियुक्त हुन्छन् । र, उनीहरूले नै भित्री व्यवस्थापन मिलाउँछन् ।

बाह्य सुरक्षाका लागि अधिकांशमा नेपाल प्रहरी र संवेदनशील कारागारमा सशस्त्र प्रहरीका टुकडीसमेत तैनाथ गरिएको छ ।

विभागका अनुसार नवलपरासी, कास्की, सङ्खुवासभा र अछाममा आधुनिक प्रविधिसहितका कारागार निर्माणाधीन छन् ।

विभागका अधिकृत मुरारी कार्कीका अनुसार भीमफेदी, कपिलवस्तु, धादिङ र तुलसीपुरमा नयाँ प्रविधिका कारागार भवन निर्माण भइसकेका छन् ।

निर्देशक आचार्यका अनुसार नुवाकोटमा सात हजार कैदीबन्दी अटाउन सक्ने क्षमताको केन्द्रीय कारागार निर्माणको तयारी भइरहेको छ ।

‘त्यसका लागि ८ अर्ब रुपैयाँ लाग्ने अनुमान छ,’ आचार्य भन्छन्, ‘त्यसबाट कैदीबन्दीको चाप व्यवस्थापन गर्न मद्दत पुग्ने अपेक्षा छ ।’

Comments

comments

LEAVE A REPLY