प्रचण्डविरुद्ध यसरी खनिए वैद्य- विज्ञप्तिको पूर्ण पाठ सहित

कलम नेपाल ,
काठमाडौँ– मोहन वैद्य नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी (क्रान्तिकारी माओवादी) ले २३ औ नजनयुद्ध दिवसलाई नयाँ जनवादी क्रान्तिको तयारीका रूपमा मनाउने निर्णय गरेको छ ।

सो पार्टीका माहासचिव मोहन वैद्यले सोमबार जनयुद्ध दिवसका अवसरमा जारी गरेको प्रेस वक्तव्यमा तत्कालीन माओवादीको नेतृत्वमा २०५२ साल फागुन १ गते जनयुद्धको ऐतिहासिक पहल गरिएपनि नयाँ जनवादी राज्यसत्ताको स्थापना हुन नसकेको भन्दै यो दिवसलाई नयाँ जनवादी क्रान्तिको तयारीका रूपमा मनाउन आव्हान गरेका छन् ।

महासचिव वैद्यले दश वर्षसम्म सञ्चालित जनयुद्ध नेपालको राष्ट्रिय राजनीतिका सबै क्षेत्रमा उथलपुथल पैदागर्दै तथा विश्वमा पनि आफ्नो प्रभाव फैलाउँदै एउटा उत्कर्षमा पुगेपनि पार्टीको मूल नेतृत्वले गम्भीर धोका दिएकाले जनयुद्धले गम्भीर धक्का खान पुगेको बताएका छन् ।

मोहन वैद्यले दश वर्षको जनयुद्धका बिचबाट जन्मिएको संविधानसभाद्वारा पश्चगामी राज्यसत्ता र संसदीय व्यवस्थाकै पुनर्बहाली गरी संविधान बनाएको आरोप लगाएका छन् ।

उनले स्थानीय, प्रादेशिक र केन्द्रीय तहका चुनावलाई नौटङ्कीको संज्ञा दिँदै संसदवादी दलहरूले संविधान कार्यान्वयनको झ्याली पिंटेको आरोप लगाएका छन् ।

‘वाम गठबन्धनका नाममा दक्षिणपन्थी संशोधनवादको हैकम तीव्र बन्दै गएको छ । यस जटिल स्थितिमा हामी मार्क्सवाद–लेनिनवाद–माओवादको पथप्रदर्शनमा पार्टीलाई बलियो बनाउँदै तथा सच्चा क्रान्तिकारी कम्युनिस्टहरूलाई एकताबद्ध तुल्याउने काममा विशेष जोड दिँदै नयाँ जनवादी क्रान्तिको तयारीको दिशामा अघि बढिरहेका छौँ ’ महासचिव वैद्यले भनेका छन् ।

तेइसौं जनयुद्ध दिवसको अवसरमा प्रेसवक्तव्यको पूर्णपाठ

हामी तेइसौं जनयुद्ध दिवस मनाउँदै छौँ । नेपाल कम्युनिस्ट पार्टी (माओवादी) को नेतृत्वमा तेइस वर्षअघि २०५२ साल फागुन १ गते महान् जनयुद्धको ऐतिहासिक पहल गरिएको थियो । सो जनयुद्ध नेपालमा नयाँ जनवादी राज्यसत्ताको स्थापना गरी समाजवाद हुँदै साम्यवादमा जाने उद्देश्यमा आधारित थियो ।

दश वर्षसम्म सञ्चालित जनयुद्ध नेपालको राष्ट्रिय राजनीतिका सबै क्षेत्रमा उथलपुथल पैदागर्दै तथा विश्वमा पनि आफ्नो प्रभाव फैलाउँदै एउटा उत्कर्षमा पुग्दै थियो । परन्तु, पार्टीको मूल नेतृत्वबाटै गम्भीर धोका दिइनुको कारण त्यसप्रकारको जनयुद्धले गम्भीर धक्का खान पुग्यो ।

महान् जनयुद्धको प्रक्रियामा हजारौँ वीर योद्धाहरुले सहादत प्राप्त गरे । कैयौँ राज्यद्वारा बेपत्ता पारिए । कैयौँ घाइते तथा अपाङ्ग बनाइए । तेइसौं जनयुद्ध दिवसको यस ऐतिहासिक अवसरमा हामी जनयुद्धका महान् अमर सहिदहरूप्रति भावपूर्ण श्रद्धाञ्जली अर्पण गर्दछौँ । बेपत्ता योद्धाहरुको स–सम्मान संस्मरण गर्दछौँ ।

साथै, जनयुद्धमा घाइते अपाङ्ग बनेका सम्पूर्ण योद्धाहरुप्रति पनि हामी सम्मान जाहेर गर्दछौँ । साथै, हामी वीर सहिद तथा बेपत्ता योद्धाहरुका परिवारजनहरूप्रति पनि सम्मान प्रकट गर्दछौँ । यसै गरी हामी पार्टीका सम्पूर्ण कमरेडहरू, क्रान्तिका शुभचिन्तक, परिवर्तनकामी जनसमुदाय र अन्तर्राष्ट्रिय क्षेत्रका मित्र, भाइचारा पार्टी तथा विश्वसर्वहारावर्गप्रति पनि हार्दिक शुभकामना तथा अभिवादन व्यक्त गर्दछौँ ।

दश वर्षको जनयुद्धका बिचबाट जन्मिएको संविधानसभाद्वारा पश्चगामी राज्यसत्ता र संसदीय व्यवस्थाकै पुनर्बहाली गरी संविधान बनाइयो । देश र जनताका मुक्ति र स्वतन्त्रताका सपना साकार हुन सकेनन् । यस वर्ष स्थानीय, प्रादेशिक र केन्द्रीय तहका चुनावी नौटङ्की पूरा गरी संसदवादी संविधान कार्यान्वयनको झ्याली पिंटिदै छ । वाम गठबन्धनका नाममा दक्षिणपन्थी संशोधनवादको हैकम तीव्र बन्दै गएको छ ।

यस जटिल स्थितिमा हामी मार्क्सवाद–लेनिनवाद–माओवादको पथप्रदर्शनमा पार्टीलाई बलियो बनाउँदै तथा सच्चा क्रान्तिकारी कम्युनिस्टहरूलाई एकताबद्ध तुल्याउने काममा विशेष जोड दिँदै नयाँ जनवादी क्रान्तिको तयारीको दिशामा अघि बढिरहेका छौँ । यसै उद्देश्य प्राप्तिका लागि दृढतापूर्वक अगाडि बढ्नु नै तेइसौं जनयुद्ध दिवस मनाउनुको वास्तविक अर्थ र औचित्य हो । फेरि पनि हार्दिक शुभकामना ! क्रान्तिकारी अभिवादन !! लाल सलाम !!!
मिति – २०७४ फागुन १
…………..
किरण
महासचिव

Comments

comments

LEAVE A REPLY