मन्त्रिमण्डल बिस्तार आज

प्रधानमन्त्री कार्यालय

कलम नेपाल
काठमाडौँ÷ प्रधानमन्त्री केपी शर्मा ओलीले आज मन्त्रिमण्डल बिस्तार गर्ने तयारी गर्नुभएको छ ।
सत्तासहयात्री माओवादी केन्द्र र आफ्नो दलबाट समेत गरी प्रधानमन्त्री ओलीले मन्त्रिमण्डल बिस्तारको तयारी गर्नुभएको हो । केन्द्रमा १८ मन्त्रालय राख्ने सहमति गरेका दुई दलबिच एमालेलाई १० र माओवादी केन्द्रलाई ७ वटा मन्त्रालय दिने तय भइसकेको छ ।

आफ्नो भागमा परेका मन्त्रालयमा मन्त्री चयन गर्न माओवादी केन्द्र बिहानैबाट छलफलमा जुटेको छ । खुमलटारस्थित अध्यक्ष पुष्पकमल दाहालको निवासमा जारी शीर्ष नेताहरूको छलफलले सरकारमा जाने मन्त्रीहरूको टुङ्गो लगाउने प्रवक्ता पम्फा भुषालले जानकारी दिनुभयो ।

माओवादी केन्द्रले नेता रामबहादुर थापाको नेतृत्वमा सरकारमा सहभागिता जनाउने तयारी गरेको छ । माओवादी केन्द्रबाट बर्षमान पुन, जनार्दन शर्मा, शक्ति बस्नेत, पम्फा भुषाल, मातृका यादव, लेखराज भट्ट, देबेन्द्र पौडेल अग्नि सापकोटा बिना मगर, जयपुरी घर्ती लगायतको नाम चर्चामा छ ।

पार्टीको तर्फबाट मन्त्री छान्न प्रधानमन्त्री एवम् पार्टी अध्यक्ष केपी शर्मा ओलीलाई जिम्मा दिएको एमालेले पनि मध्यान्हसम्ममा मन्त्रीहरूको टुङ्गो लगाइसक्ने नेता सुवास नेम्वाङले जानकारी दिनुभयो । एमालेबाट महासचिव ईश्वर पोखरेल, उपमहासचिव विष्णु पौडेल, सचिव प्रदिप ज्ञवाली र योगेश भट्टराई तथा नेताहरू रघुबिर महासेठ, कृष्णगोपाल श्रेष्ठ लगायतको नाम चर्चामा छ ।

सरकार बिस्तारका सम्बन्धमा हिजो साँझ दुई अध्यक्षबिच भएको छलफलमा मधेशवादी दलहरूलाई पनि सरकारमा सहभागी गराउन आज अन्तिम प्रयास गर्ने सहमति भएको थियो । सोही सहमतिका आधारमा सङ्घीय समाजवादी फोरम नेपाल र राष्ट्रिय जनता पार्टीसँग आज थप छलफल गरेपछि मात्रै मन्त्रीहरूको अन्तिम टुङ्गो लगाउने सत्तारुढ दलको तयारी छ ।

उनीहरूको निर्णयका लागी मध्यान्हसम्म कुर्ने र त्यसपछि मात्र मन्त्रीहरूको शपथ कार्यक्रम राख्ने प्रधानमन्त्री ओलीको तयारी छ । राष्ट्रपति कार्यालयले पनि साँझसम्ममा शपथ गराउने तयारी थालेको राष्ट्रपति कार्यालय स्रोतले जनाएको छ ।

Comments

comments

LEAVE A REPLY